नेपाल–भारत सम्बन्धको लाभ ‘आइटी’ क्षेत्रमार्फत लिनुपर्ने

  ८ घण्टा अगाडि

काठमाडौँ, २५ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आइटी क्षेत्रमार्फत लिनुपर्ने बताउनुभएको छ ।

भारतीय दूतावासले आज यहाँ आयोजना गरेको ‘सेकेण्ड इण्डिया–नेपाल स्टार्टअप कनेक्ट कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले अहिले सूचना प्रविधिको युग भएकाले दुई देशबीचको सम्बन्ध जोड्ने आधार सूचना प्रविधि रहेको बताउनुभयो ।

उहाँका अनुसार नेपाल र भारतबीचको सांस्कृतिक, भावनात्मक र खुला सिमानाको अन्तर सम्बन्धलाई अब नवीन कार्यमा रुपान्तरण आवश्यक छ । आइटी क्षेत्रमार्फत दुई देशबीचका युवाबीच ‘इनोभेटिभ’ कार्यमा सहकार्यको आवश्यकता उहाँले औँल्याउनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले नेपालले आइटी क्षेत्रमा पूर्वाधार निर्माण, बजार विस्तार र ‘डिजिटल फ्रेमवर्क’मा कार्य सम्पादन गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले नेपालको आफ्नै स्याटेलाइट निर्माण गर्ने, ‘डिजिटल लिटरेसी’ विस्तार गर्ने, एआइ नीति ल्याउने सरकारको योजना रहेको जानकारी दिनुभयो । “हामीले अब नेपाल र भारतबीच नवप्रवर्तन मार्फत सहकार्य गर्न सक्छौँ”, उहाँले भन्नुभयो, “यसले दुई देशको सम्बन्ध विस्तारसँगै अर्थतन्त्रमा टेवा पु-याउँछ ।”

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नेपाली र भारतीय नवप्रवर्तनबीच सहकार्य गरेर उद्यमशीलतामा प्रोत्साहन गरिने बताउनुभयो । भारतीय सरकारले नवप्रवर्तनमा युवा विशेष लगानी गर्दै आएको र नेपालले पनि प्रयास गरेको देखिएकाले दुवै देशबीचको सहकार्यमा थप उपलब्धिपूर्ण बनाउन सकिने धारणा राख्नुभयो ।

राजदूत श्रीवास्तवले भारतमा आगामी अप्रिल ३ देखि ५ तारिखमा हुन लागेको नवप्रवर्तन महाकुम्भमा सहभागी भइ एकअर्काको सिर्जनात्मक कार्य साझेदारी गर्न अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया