कृषि ऐन ल्याउने सरकारको तयारी

  ७ घण्टा अगाडि

चितवन, २५ माघ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताउनुभएको छ ।

प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले किसानको हितका लागि पहिलो पटक कृषि ऐन ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केही दिनभित्र ऐनलाई मन्त्रिपरिषद्बाट पारित गरेर संसद्मा लैजाने तयारी मन्त्रालयको छ ।”

उहाँले कृषकलाई ऐनमा समावेश गर्नुपर्ने सुझाव दिनसमेत आग्रह गर्नुभयो । कृषि ऐन बनेसँगै किसानका समस्या समाधानका लागि सहज हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ऐन बनिसकेपछि नेपाली किसान पनि निर्यात गर्ने क्षमतामा पुग्ने छन् ।”

पछिल्लो समय दुग्ध उत्पादनक किसानले भुक्तानी नपाएको विषयमा उहाँले भन्नुभयो, “हामीले ज–जसलाई विश्वास गरेर जिम्मेवारी सुम्पियौँ त्यही ठाउँबाट इमान्दारिताका साथ काम हुन नसक्दा समस्या भयो, दूधको पैसा भुक्तानी नभएकोमा लज्जित छु । किसानसँग रु ६५ मा उधारो किन्ने र रु एक सयमा बेचेर किसानलाई पैसा नदिने यो हुन सक्दैन ।”

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति शारदा थपलियालगायतले कृषि क्षेत्रले भोग्नुपरेका समस्या र समाधनमा राज्यको भूमिकाबारे बोल्नुभएको थियो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घ चितवनको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम राष्ट्रिय डेरी एक्स्पो तीन दिनसम्म चल्नेछ । चितवन उद्योग सङ्घका कार्यवाहक अध्यक्ष मदन घिमिरेले पहिलो पटक राष्ट्रिय डेरी एक्स्पो गरिएकाले यसले दुग्ध उत्पादक किसानलाई फाइदा पुग्ने बताउनुभयो ।

७० वटा दूध र दुग्धजन्य उत्पादनको प्रदर्शनी कक्ष रहेको सो एक्स्पोको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया