सामाजिक सञ्जालको प्रयोगबारे जनचेतना जगाउन विज्ञको सुझाव

  १२ घण्टा अगाडि

काठमाडौँ, २४ माघ : इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रूपमा आउन सक्ने भन्दै सरकोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

रोटरी क्लब अफ काठमाडौँ र आइएसएसआरको सहकार्यमा दरबारमार्गमा आयोजित ‘सामाजिक सञ्जाल र यसका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो चिन्ता प्रकट गरेका हुन्। सामाजिक सञ्जालको प्रयोगबाट भइरहेका विभिन्न किसिमका सामाजिक, मानसिक, आर्थिक, लगायत आपराधिक गतिविधिको अवस्था हेर्दा सामाजिक विपदकै रूपमा यो समस्या बढ्न सक्ने विज्ञको भनाइ छ। कार्यक्रममा बोल्ने वक्ताले मानसिक स्वास्थ्यमा साइबर बुलिङ र इन्टरनेट लतको प्रभावले कसरी प्रभाव पार्छ भन्ने विषयमा चर्चा गर्नुभएको छ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भन्नुभयो, ‘‘सामाजिक सञ्जाललाई जिम्मेवार र सुरक्षित तरिकाले प्रयोग गर्नुबाहेक हामीसँग विकल्प छैन। यसमा हाम्रो ध्यान जान जरुरी छ।’’ सामाजिक सञ्जालको प्रयोगले मानसिक सामाजिक लगायत मानिसको बहुआयामिक क्षेत्रमा असर गरिरहेको श्रेष्ठले बताउनुभयो।

त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सामाजिक सञ्जाल पाणघातक रोगका रूपमा फैलिरहेको बताउनुभयो। ‘‘हाल मृतकको सङ्ख्या हेर्दा १० प्रतिशत मानसिक समस्याका कारण भइरहेको भन्ने तथ्याङ्क छ’’, उहाँले भन्नुभयो, ‘‘मानसिक रोगको कारक सामाजिक सञ्जाललाई मानिएको छ। दिनमा २ घण्टाभन्दा धेरै मोबाइल चलाउँदा मानसिक, शारीरीक सामाजिक हिसाबले हानिकारक छ भन्ने कुरा जान्दाजान्दै पनि यसको लतमा फसिरहेका छौं, त्यसैले कानुन सँगसँगै हामी आफैं पनि सुध्रिन जरुरी छ।’’

त्यस्तै पूर्व मुख्य सचिव शंकर बैरागीले अहिलेको युगमा सामाजिक सञ्जालको प्रयोग अत्यावश्यक भएता पनि बुद्धिमत्तापूर्ण ढङ्गले प्रयोग गर्न जरुरी रहेको बताउनुभयो। यसको प्रयोगका लागि कानुन बन्नुपर्नेमा समस्या आएपछि मात्रै कानुन बनाउने परम्पराका कारण दुरुपयोग भइरहेको उहाँको भनाइ छ।

कार्यक्रममा मनोरोग विशेषज्ञ डा.प्रदीप पाण्डेले हेर्दा सामान्य लागे पनि मोबाइल र इन्टरनेटको लत बच्चादेखि वृद्धसम्म सबैमा रहेको बताउनुभयो।

पाण्डेका अनुसार १० देखि ५० प्रतिशत मानिसमा मोबाइलको लत छ। डिप्रेसन, एन्जाइटी जस्ता मानसिक समस्याको प्रमुख कारण मोबाइल तथा इन्टरनेटको अधिक प्रयोग नै रहेको उहाँको भनाइ छ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका डीएसपी उमेशप्रसाद साहले विभिन्न सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराधका घटना दिन प्रतिदिन बढिरहेको बताउनुभयो।

साहले सामाजिक सञ्जालमा सबैभन्दा धेरै फेसबुकको दुरुपयोग भइरहेको छ। अहिले नेपालमा ३७ लाख ४७ हजारको हातमा मोबाइल छ, जसमध्ये आधाभन्दा धेरैले फेसबुक चलाउँछन्। अध्ययन अनुसार फेसबुकबाट मात्रै १ मिनेटमा २ लाख ४३ हजार फोटो अपलोड हुने गरेको साहले तथ्याङ्क पेस गर्नुभयो।

फेसबुक तथा म्यासेन्जरकै माध्यमबाट यौन शोषण, सामूहिक बलात्कारदेखि लिएर किशोरी बेचबिखनसम्मका घटना भएको उदाहरण दिँदै डीएसपी साहले भन्नुभयो, ‘‘०६३ सालको विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार काम गर्नु परेको छ। तर, अहिलेसम्म त्यो दफा अनुसार हुने भनिएको सजाय कसैमाथि भएको छैन।’’

त्यस्तै आइटी विशेषज्ञ अश्विनी भट्टराईले कतिपय किशोर किशोरी जानी नजानी बुलिङको शिकार भइरहेकाले सामाजिक सञ्जाल चलाउँदा सचेत हुनुपर्ने बताउनुभयो। उहाँले साइबर क्राइमसम्बन्धी शिक्षा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले साइबर अपराधमा संलग्नलाई कारबाहीको पाटोमा कानुन चुकेको बताउनुभयो। यसबारे जनचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ छ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ काठमाडौँका अध्यक्ष शुशीलकुमार कार्कीले मोबाइलको एडिक्सन र बुलिङले मानव जीवनमा विपदकै रूप लिन थालेको भन्दै यसको समाधानका लागि सबै पक्ष एकजुट भएर लाग्न जरुरी रहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया