शुक्लाफाँटामा निःशुल्क आँखा शिविर

  २१ घण्टा अगाडि

कञ्चनपुर, २३ माघ : शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरबाट दुई सय १७ जना लाभान्वित भएका छन् ।

वडा कार्यालयको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो । आँखासम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि आयोजना गरिएको शिविरमा पुगेका १० महिला र १३ पुरूषमा मोतिया बिन्दुको समस्या देखिएको छ । शिविरमा आँखा जाँचका क्रममा मोतिया बिन्दु भएका बिरामीको निःशुल्क रूपमा शल्यक्रिया गर्ने व्यवस्था गरिएको शुक्लाफाँटा–९ वडाध्यक्ष रमेशबहादुर ऐरले बताउनुभयो ।

मोतिया बिन्दु भएका बिरामीको धनगढी नेत्रालयले निःशुल्क रूपमा शल्यक्रिया गर्ने छ । शल्यक्रियाका लागि छनौट भएका बिरामीलाई धनगढीसम्म जान एकतर्फि गाडी भाडा उपलब्ध गराइने छ भने बिरामीलाई औषधि र चश्मा निःशुल्क उपलब्ध गराउने सम्झौता रहेको वडाध्यक्ष ऐरले बताउनुभयो ।

शिविरमा आँखा उपचारका लागि पुगेकामध्ये ३२ जनालाई निःशुल्क रूपमा चस्मा उपलव्ध गराइएको छ । अन्य बिरामीलाई निःशुल्क रूपमा औषधि र आवश्यक परामर्श दिने कार्य गरिएको छ । वडा कार्यालयले विगत छ वर्षदेखि निरन्तर रूपमा निःशुल्क रूपमा आँखा शिविर आयोजना गरी वडाका बासिन्दालाई आँखासम्बन्धी सेवा दिँदै आएको छ । हालसम्म वडाका छ सय बढी आँखामा मोतिया बिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको वडाध्यक्ष ऐरले बताउनुभयो ।

तपाईको प्रतिक्रिया