कोपेनहेगन, २२ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड कब्जा गर्ने टिप्पणीको विरोधमा युरोपेली समर्थन खोज्ने क्रममा डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले मङ्गलबार बेलायती समकक्षी किर स्टार्मरसँग भेट्दै हुनुहुन्छ ।
फ्रेडरिक्सनको कार्यालयअनुसार लन्डनमा हुने बैठक ‘युरोपमा सुरक्षा’ मा केन्द्रित हुनेछ । “हामीलाई बलियो युरोप चाहिन्छ जसले नेटोमा बढी योगदान गर्छ र आफ्नै खुट्टामा बढी उभिन्छ”, विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाको विशेष उल्लेख नगरी ग्रिनल्यान्ड स्वायत्त डेनिस क्षेत्र हो भन्ने फ्रेडरिक्सनको भनाइ उदृत गर्दै भनिएको छ, “एकै साथ हामीले दोस्रो विश्वयुद्धदेखि शान्ति र समृद्धिको आधार रहेको ट्रान्सएटलान्टिक साझेदारी कायम राख्न हाम्रो भूमिका निर्वाह गर्नुपर्छ ।”
ट्रम्पले संयुक्त राज्यको हिस्सा बन्न उहाँ आर्कटिक टापु चाहने बारम्बार सङ्केत दिनुभएको छ । ग्रिनल्यान्ड रणनीतिकरूपमा महत्त्वपूर्ण छ र ठुलो अप्रयुक्त खनिज र तेल भण्डारहरू छन् भन्ने विश्वास गरिन्छ । सप्ताहन्तमा प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले ग्रिनल्यान्ड अमेरिकाको ‘राष्ट्रिय सुरक्षा’का लागि ‘वास्तवमै महत्त्वपूर्ण’ भएको बताउनुभयो ।
“स्पष्टसँग भन्नुपर्दा ग्रिनल्यान्डलाई नियन्त्रण गर्ने डेनमार्कले आफ्नो काम गरिरहेको छैन र यो राम्रो सहयोगी पनि छैन”, भान्सले भन्नुभयो । सोमबार फ्रेडरिक्सनले डेनमार्क ‘संयुक्त राज्य अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण र उत्कृष्ट सहयोगीहरू मध्ये एक हो’ भनी जोड दिनुभयो । गत हप्ता उहाँले ट्रम्पको धम्कीविरुद्ध युरोपेली सङ्घका परम्परागत शक्ति केन्द्रहरूबाट समर्थन लिन पेरिस र बर्लिनको भ्रमण गर्नुभएको थियो ।
ट्रम्प राष्ट्रपतिका रूपमा शपथ लिएको एक दिनपछि ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट इगेडले ग्रिनल्यान्डवासीहरू ‘अमेरिकी हुन चाहँदैनन्’ भनी जोड दिनुभयो । डेनमार्कका नेताहरूले ग्रिनल्यान्ड ग्रिनल्यान्डवासीहरूको हो भन्ने कुरामा जोड दिएका छन् । रासस/एएफपी