सवारी दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु

  ५ घण्टा अगाडि

गाईघाट (उदयपुर), २२ माघ : यहाँको त्रियुगा नगरपालिकामा रात्रिकालीन समयमा सवारी दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले उज्यालो नगर अभियान सुरु गरेको छ ।

नगरपालिकाका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने गाईघाट, पुरानो गाईघाट, असारी सडकका मुख्य बजार र चोकका विद्युत् पोलमा ‘स्मार्ट लाइट’ जडान सुरु गरिएको हो । त्रिनपा–९ को गैरुन, राजाबास तथा चुहाडे क्षेत्रका मुख्य सडकका चोकहरुमा पनि स्मार्ट लाइट जडान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी, सगरमाथा सडकअन्तर्गत त्रिनपा–५,४ र ३ को देउरी, बगाहा, मोतिगडा, भुल्के, खैजनपुरसहित त्रिनपा–१० बोक्से क्षेत्रको चोक र भीड हुने स्थानहरुमा स्मार्ट लाइट जडान भइरहेको छ ।

नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार नगरको ती क्षेत्रहरुमा प्रत्येक महिना सवारी दुर्घटना हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न उज्यालो नगर अभियान सुरु गरिएको हो । विसं २०६५ सम्म नगरभित्र ५६ हजार मात्र जनसङ्ख्या रहेकामा हाल एक लाख ३० हजार पुगेको छ । यातायातका साधनहरु यस क्षेत्र हुँदै दैनिक चार हजारभन्दा बढी गुड्ने गर्दछन् । रासस

तपाईको प्रतिक्रिया