चितवन, १९ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एम्बुलेन्स चालकहरूको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको सातौँ वार्षिकोत्सव तथा साधारणसभालाई सम्बोधन गर्दै उहाँले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनेसमेत बताउनुभयो ।
अध्यक्ष दाहालले सङ्घले राखेका माग कार्यान्वनका लागि सडक र सदन दवैै ठाउँबाट सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिनुभयो । “एम्बुलेन्स चालकहरूका समस्या समाधानका लागि म मेरो तर्फबाट प्रतिबद्ध छु । यसमा सरकारको ध्यान केन्द्रित गर्न मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको उल्लेख गर्दै अब हरेक क्षेत्रमा देखिएको बिचौलियाको प्रभाव रोक्न सबै वर्ग एकताबद्ध हुन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले पार्टी मातहतका जनवर्गीय सङ्गठनहरुलाई बलियो बनाउने नीतिअनुसार पार्टीलाई चलायमान बनाइएको बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहाल, सङ्घका कानुनी सल्लाहाकार एकराज भण्डारी, चितवन मेडिकल कलेजका निर्देशकहरू डा दयाराम लम्साल, प्रताप देवकोटा, नेसनल सिटी अस्पतालका सञ्चालक सरोज ढकाललगायतले आफ्ना धारणा राख्नुभएको थियो । सङ्घका अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालकहरूले भोग्नुपरेका समस्याबारे जानकारी दिनुभएको थियो । रासस