त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खला : नेपालद्वारा थाइल्याण्डसामु १०२ रनको लक्ष्य

  ८ घण्टा अगाडि

काठमाडौँ, १९ माघ : त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा थाइल्याण्डसामु जितका लागि एक सय दुई रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो । नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् ।

बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् । अहिले थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया