प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन : थालिएका काममा प्रगति हुँदैछ

  ६ घण्टा अगाडि

काठमाडौँ, १८ माघ : प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताउनुुभएको छ ।

उहाँले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै महत्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गर्नुभयो । प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुुरुङमार्गको ‘ब्रेक थ्रुु’ हुनुु एक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङमार्गको योजना अगाडि बढिरहेको बताउनुुभयो ।

उहाँले काठमाडौँ–तराई मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथाङ्का सडकमार्गसमेत केही दिनअघि मात्रै ‘ब्रेक थ्रु’ भएको अवगत गराउनुुभयो । प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम द्रुतगतिमा अघि बढिरहेको बताउनुुभयो । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रङ्गशाला बनाउने र त्यसमा फ्लडलाइट जोड्ने निर्णयबमोजिम बोलपत्र आह्वान भई तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको जानकारी दिनुुभयो ।

“यस्तै, सुर्खेतमा आधुनिक कर्णाली रङ्गशाला तयार भएको छ । विकास निर्माणका काममा ‘ब्रेक–थ्रु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि अगाडि बढाएका छौँ”, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भन्नुभयो । रासस

तपाईको प्रतिक्रिया