महिला लिगमा एपिएफ च्याम्पियन

  माघ १६, २०८१

काठमाडौँ, १६ माघ : विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग च्याम्पियन बनेको छ ।

दशरथ रङ्गशालामा बुधबार भएको फाइनलमा एपिएफले पुलिसलाई ४–० गोलले हरायो । महिला फुटबलमा छुट्टै पहिचान बनाएको एपिएफले अपराजित रहेर लगातार चौथो पटक लिग उपाधि जितेको हो ।

उपाधिसँगै एपिएफले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता पुलिसले पाँच लाख रुपियाँ पुरस्कार पायो । एपिएफको जितका सविता रानामगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक एक गोल गर्नुभयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्राे हाफ एपिएफले एकपक्षीय प्रदर्शन गरेको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ ढाँचाका महिला लिग सञ्चालन गरेको हो ।

एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

अनुको सन्न्यास

महिला लिगको फाइनल खेलसँगै राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट सन्न्यास लिनुभएको छ ।

यद्यपी अनुले राष्ट्रिय टोलीबाट यसअघि नै सन्न्यास लिई सक्नुभएको थियो । घरेलु फुटबलमा एपिएफ क्लबबाट खेल्दै आउनुभएकी अनुले नेपाली राष्ट्रिय टोली लागि ३५ अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।

लिगको फाइनलमा अनुले एक गोल गर्दै आफ्नो खेल जीवनलाई बाइबाइ गर्नुभएको हो । उहाँलाई सन्न्यासको क्रममा एपीएफका खेलाडीहरूले गार्डअफ अनर समेत प्रदान गरेका थिए

तपाईको प्रतिक्रिया