सुर्खेत, १० माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
नीतिगत रूपमा हेर्दा यो सरकारको आयु लामो नभए पनि आफूहरूले सरकार बदल्न खोजेको भन्ने बुझाइ चाहिँ सही नभएको उहाँले स्पष्ट गर्नुभयो । यो सरकार बन्नेबेलादेखि नै आफ्नो पार्टीले भन्दै आएजस्तो सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको उल्लेख गर्नुहुँदै उहाँले यति हुँदा पनि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको प्रस्ट पानुभयो ।
देशको राजनीति सहज नदेखिएको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताउनुभयो । सरकारले गलत तरिकाले अध्यादेश ल्याएर शासन गर्न खोजिएको भन्दै उहाँले विरोध जनाउनुभयो ।
संसदमा प्रवेश गरिसकेका र समितिमा छलफल भइरहेको विधेयकलाई प्रक्रियागत ढङ्गले फिर्ता लिनुका सट्टा संवैधानिक तथा लोकतान्त्रिक विधिलाई मिचेर मन्त्रीपरिषदबाट नमिल्ने काम गरीे दुससाहस भएको भन्दै अध्यक्ष प्रचण्डले विरोध गर्नुभयो ।
सरकारले संसद् अधिवेशन आह्वान गर्नुको सट्टा अध्यादेशमा बल गरेपछि विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने तयारी गरेपछि सरकारले बाध्य भएर संसद् आह्वान गरेको बताउनुभयो । अब विपक्षी दलहरूले संसदमा जनताका एजेन्डा प्रभावकारीरूपमा र आवश्यक कानुन निर्माणमा जोड दिने जानकारी पनि अध्यक्ष प्रचण्डले गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
यसैबिच अध्यक्ष प्रचण्डले सुर्खेत भेरीगङ्गाको छिन्चुमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै देशव्यापी पार्टीको पक्षमा जनलहर सिर्जना भएकाले मिहेनतका साथ लाग्न निर्देशन दिनुभयो । अब पार्टी निरन्तर अभियानमा लाग्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको जानकारी दिनुहुँदै उहाँले फागुनदेखि सिरु जनतासँग माओवादी अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
त्यस्तै, अध्यक्ष प्रचण्डले बर्दियाको बबई पुल क्षेत्रका जनतासित भेटघाट गर्दै मध्यवर्ती क्षेत्रका जनताको समस्या समाधानका लागि संसदमा आवाज उठाउने र आवश्यक कानुन परिमार्जन गरेर जानुपर्ने बताउनुभयो ।