काठमाडौँ, ९ माघ : नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले सिमेन्टको मूल्य बढ्नुमा संयोग मात्रै नभएर नियत खराब भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ।
बुधबार प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो।
उहाँले निर्माणको सिजनमा मूल्य वृद्धि गरिनु संयोग मात्रै नभइ नियत खराबका साथ गरिएको देखिएको बताउनुभयो। उहाँले तीन महिनाअघिको तुलनामा ५० देखि ७५ प्रतिशत मूल्य वृद्धि भएको देखिएको बताउनुभयो। उहाँले उद्योगीलाई लागतअनुसार उचित मूल्य लिन आग्रह गर्नुभयो।
उहाँले उद्योगीले कालोबजारी गरी कार्टेलिङ गर्न नपाउने बताउनुभयो। उहाँले व्यवसायीले ठेक्कापट्टा लिने काम गर्ने अरु निजी काम गर्ने बेला सिमेन्टको मूल्य वृद्धि स्वीकार्न नसकिने बताउनुभयो। उहाँले ३५८ रुपियाँ र ४५८ बाट करिब साढे ७ सय र ८ सय पुगेको देखिएको बताउनुभयो।
उहाँले विद्युतको मूल्य बढेदा, ढुवानीको मूल्य बढ्दा, श्रमको मूल्य बढ्दा र वस्तुको मूल्य बढ्दा मूल्य वृद्धि हुनसक्ने तर केहीको पनि मूल्य वृद्धि नभएको समयमा सिमेन्टको मूल्यवृद्धि गर्नु राम्रो नियतले नभएको बताउनुभयो।
उहाँले नेपालको आफ्नै कच्चा पदार्थमा नेपाली प्रविधि र जनशक्ति नेपालमा ठूलो पुँजी परिचालन गरेको बताउनुभयो। उहाँले यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।