‘चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन्’

  २३ घण्टा अगाडि

मनहरी (मकवानपुर), १ माघ : बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आफ्ना विशिष्ट पहिचानहरूलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

माघे सङ्क्रान्ति एवं माघी पर्वको शुभकामना सन्देश जारी गर्नुहँुदै उहाँले हाम्रा विशिष्ट र मौलिक पहिचान बोकेका चाडपर्व हाम्रा खुसी जीवनका आधार हुन् भन्नुभयो । चाडपर्वले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न महत्त्वपूर्ण योगदान दिने जनाउँदै उहाँले आफ्नो मौलिकपनलाई आत्मसात् गरी समृद्धि मार्गमा अघि बढ्न प्रदेशवासी सबैमा माघी पर्वले प्रेरणा प्रदान गर्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा माघे सङ्क्रान्ति र माघी पर्वलाई खासगरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले हासीखुसी तथा धुमधामका साथ आआफ्नै तरिकाले मनाउने प्रचलन रहेको उल्लेख गर्नुभएको छ ।

थारू समुदायले माघीपर्वलाई अति उल्लासका साथ नयाँ वर्षका रूपमा नाचगान, आफन्त भेटघाट तथा खानपिन गरेर मनाउने गर्छन् । यो पर्वमा पवित्र नदी तथा त्रिवेणीमा गएर स्नान गरी घ्यू, चाकु, तीलको लड्डु, तरुल र अन्य परिकार खाएर रमाइलो गरिन्छ । देवघाट, बराहक्षेत्र, त्रिवेणीधाम, रिडीलगायत पवित्र तीर्थस्थलमा मेला लाग्ने गर्दछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । आजदेखि उत्तरायण आरम्भ हुने गर्दछ ।

तपाईको प्रतिक्रिया