जलवायु परिवर्तनले महिला, बालबालिका र युवामा परेका प्रभावबारे धनगढीमा संवाद

  पुष १३, २०८१

सुदूरपश्चिम, १३ पुस : जलवायु परिवर्तनका कारण महिला, बालबालिका र युवामा परेको प्रभावबारे आजदेखि कैलालीको धनगढीमा बृहत् संवाद भएको छ ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को आयोजनामा सुरु भएको ‘महिला बालबालिका र युवामा जलवायु परिवर्तनका प्रभावः संवाद कार्यक्रम’ मा यस प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।

एक अध्ययनअनुसार जलवायु परिवर्तनको असरले नेपाल र खासगरी सुदूरपश्चिम प्रदेशमा बढी असर पर्दै आएको छ । त्यसमा पनि दैनिक घरायसी काममा व्यस्त रहने महिला, तिनमा आश्रित बालबालिका र रोजगारीलगायत अवसरको खोजिमा युवा बढी प्रभावित भइरहेका जानकारहरूले बताएका छन् ।

जलवायुका परिवर्तन कारण उत्पन्न हुने समस्या पैदा हुनुमा नेपालको भूमिका नगन्य रहे पनि यसको मारमा भने नेपालजस्ता मुलुक पर्दै आएकामा कार्यक्रमका वक्ताहरूले चिन्ता जाहेर गरे ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘अक्सफाम’ नेपालका कार्यक्रम व्यवस्थापक राजन सुवेदीले जलवायु परिवर्तनको असरले देशको दिगो विकास लक्ष्यलाई पनि असर पु¥यारहेको बताउनुभयो । यसको असरले अर्थ व्यवस्थामा समेत ठूलो चुनौती थपिरहेको उहाँले बताउनुभयो । “जलवायु परिवर्तनका कारण नियमित प्राकृतिक चक्र खल्बलिएको छ । स्याउ फल्ने बगैँचामा हिँउ नपर्दा हाल स्याउ नफल्नु, चिसो मौसम हुने जिल्लामा लामखुट्टे पुगेर कालाजार देखिनु, पानीका मुहान सुक्दा नदी छेउकै बासिन्दालाई पनि खानेपानीको समस्या, अत्यधिक वर्षा हुनु, सुख्खा र खडेरी, बेमौसमा पनि ठूलो वर्षा भई बाढी, डुबानजस्ता समस्या निम्तिरहेका छन् । यसबाट नेपालजस्ता देश समस्यामा छन्”, सुवेदीले भन्नुभयो ।

अन्तर्राष्ट्रियस्तरका छलफल÷बैठकमा सहभागी हुने नेपालका प्रतिनिधिले जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको मारमा पर्नु परेको आवाज उठाउँदै आउनुभएको छ । नेदरल्यान्डको हेगमा हालै भएको जलवायुसम्बन्धी छलफल कार्यक्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनमा नेपालको खास भूमिका नरहे पनि कार्बन उत्सर्जन गरेर परिवर्तनमा असर पु¥याइरहेका विश्वका राष्ट्रसमक्ष नेपाललाई सोधभर्ना गर्नुपर्ने अडान राख्नुभएको संवादका क्रममा उल्लेख गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिमस्तरमा जलवायु परिवर्तनबाट पुगिरहेको असरलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुँदैछ ।

आज पहिलो दिन परराष्ट्रमन्त्री डा राणा देउवाले जलवायु परिवर्तनका असरले मानवजीवन र विकास पूर्वाधारमा गम्भीर क्षति पु¥यारहेको बताउनुभयो । उहाँले नेपालमा स्रोतको कमी नभए पनि उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा जलवायुको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै यसको असर र चुनौती न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तह सबै मिलेर काम गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

आगमी दश वर्षमा महिला बालबालिकाको जीवनस्तर माथि उकास्न कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिँदै रुडुकका संस्थापकसमेत रहनुभएकी मन्त्री डा राणाले देशमा भएका स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरी जोखिम न्यूनीकरणमा लाग्नुपर्ने बताउनुभयो । “नेपालले भएको स्रोतलाई एकीकृत ढङ्गले योजनाबद्ध रूपमा प्रयोग गर्न आवश्यक छ । यसका साथै हामीले सामना गर्नुपरेका जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय मञ्चमा समेत जोड्दार रूपमा उठाइरहेका छौँ । आगामी वैशाख÷जेठ महिनामा जलवायुसम्बन्धी ‘सगरमाथामा संवाद’ कार्यक्रम गरेर जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि विश्वको ध्यानाकर्षण गराउँदै छौँ । सगरमाथा संवादमा हिमाल पग्लिएर नेपालको मात्रै नभएर संसारकै भविष्य के हुन्छ भन्ने विषयमा संवाद गरिनेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि सरकारले जलवायु परिवर्तनको नीतिअनुरुप गरिरहेका गतिविधि म्बन्धमा सम्बोधन गर्नुभएको थियो । कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया