तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला बनाइँदै

  असार २९, २०७७

तुलसीपुर, असार २८ : घोराही उपमहानगरपालिका वडा नम्बर १६ करौती डाँडामा तीन अर्बको लगानीमा नेत्रलाल अभागी फुटबल रङ्गशाला निर्माण हुने भएको छ ।

प्रदेश ५ सरकारको लगानीमा घोराही-१६ करौती डाँडामा निर्माण हुने रङ्गशाला बहुउद्देशीय बनाइन थालेको छ । ८५ विगाहा क्षेत्रफल रहेको सो क्षेत्रमा तत्कालका लागि ३५ बिगाह क्षेत्रफलको जग्गा आवश्यक पर्ने र संरचना निर्माणका क्रममा अझ बढ्नसक्ने नेत्रलाल अभागी फुटबल रङ्गशाला व्यवस्थापन समितिका सचिव नरेन्द्र पुनले जानकारी दिनुभयो ।

प्रदेश ५ सरकारले विस्तृत परियोजना तयार पार्नका लागि गतवर्ष पाँच करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । प्रदेश नम्बर ५ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि पूर्वाधार विकासतर्फ छ करोड बजेट विनियोजन गरेको छ ।

विस्तृत परियोजना प्रतिवेदनमा फुटबल मैदानसहितको बहुउद्देश्यीय रङ्गशाला निर्माणको लागि दुई अर्ब ४८ करोड ५५ लाख ३५५ रुपियाँ लागत अनुमान गरिए पनि लागतको दायरा बढाएर तीन अर्ब बनाउन सुझाव दिइएको छ । अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजनासमेत गर्न सक्ने गरी निर्माण गर्न लागिएको सो रङ्गशालामा आउटडोर र इन्डोर खेल हुनेछन् ।

परियोजनामा अत्याधुनिक पार्क, चमेना गृह, प्रशासनिक भवनलगायत, ड्रेसिङ रूमसहितको एकीकृत रुप समेटिएको छ । बहुउद्देशीय रङ्गशालामा २५ हजार दर्शक क्षमताको अत्याधुनिक फुटबल मैदान निर्माण गरिनेछ । त्यसका साथ साथै स्वीमिङ पुल, कभर्ड हल, जीम, एथ्लेटिक्सलगायतको पूर्वाधार पनि बनाउने तयारी भएको छ । जसको इलेक्ट्रिक व्यवस्थापनमा मात्रै करिब १२ करोड ४२ लाख लागत अनुमान गरिएको छ ।

विस्तृत परियोजना एडन इन्जिनियरिङ सोलुसन प्रालि– काठमाडौँले तयार पारेको थियो । रङ्गशाला निर्माणका लागि केही व्यक्तिको जग्गासमेत पर्ने भएकाले उक्त जग्गा मुआब्जा दिनका लागि काम अघि बढाइएको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

दाङ जिल्लामा हालसम्म लमहीमा अन्तराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बेलझुण्डीमा एथलेक्टिस ट्रयाकसहितको प्याराफिट फुटबल मैदान निर्माण अन्तिम चरणमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया