१२ महिनामा १२ रोगको सचेतना अभियान

  १० घण्टा अगाडि

काठमाडौँ, ८ पुस : काठमाडौँ महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको उद्देश्यसहित वार्षिक क्यालेन्डर प्रकाशित गरी महानगरभित्र १२ महिनामा १२ किसिमका नसर्ने रोगको सचेतना अभियान सञ्चालन गरेको हो ।

महानगरका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले हरेक महिनालाई स्वास्थ्यको विशेष महिनाका रुपमा सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले सङ्घीय सरकारबाट मात्र नभई स्थानीय तहबाट पनि स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो ।

महानगरले मङ्सिरमा मात्रै उच्चरक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ । महागरका मेडिकल अधिकृत डा दिवस न्यौपानेका अनुसार महागरका सबै वडामा रहेका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट करिब ३० हजार जनाको उच्चरक्तचाप, मधुमेह र मिर्गौला परीक्षण गरिएको छ ।

महागरले पुस महिनालाई श्वासप्रश्वाससम्बन्धी रोग र सुर्तीजन्य पदार्थविरुद्धको सचेतना महिना, माघलाई मादक पदार्थ तथा सडक दुर्घटना सचेतना महिना, फागुनलाई क्यान्सर तथा प्रजनन स्वास्थ्य सचेतना महिना, चैतलाई मानसिक स्वास्थ्य सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्दैछ ।

यस्तै, वैशाखमा आँखा, जेठ मुख तथा नाक, कान र घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता सचेतना महिना, साउनमा नवजात र बालबालिका स्वास्थ्य पोषण तथा स्तनपान सचेतना महिनाका रुपमा अभियान सञ्चालन गर्न थालेको हो । भदौमा उच्चरक्तचाप र असोजमा मधुमेहलाई समेटेर मङ्सिरमा मिर्गाैलासहितको सचेतना अभियान सञ्चालन गरिएको छ । कात्तिक महिनामा स्वस्थकर खानपान तथा आरोग्य जीवन सचेतना अभियान सञ्चालन गरिएको थियो ।

मेडिकल अधिकृत डा न्यौपानेले यस वर्षदेखि सुरु गरिएको अभियान दसँै, तिहार र उपनिर्वाचनका कारणले समयमा नै सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले अबदेखि हरेक वर्ष सचेतना अभियानलाई महाअभियानका रुपमा सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया