गण्डकी, ६ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को साझेदारीमा वर्तमान सरकार गठन स्पष्ट गर्नुभएको छ ।
कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका–६ स्थित बराह माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव एवं प्राविधिक शिक्षा रजत वर्ष समारोहको आज उद्घाटन गर्दै उहाँले बारम्बार सरकार परिवर्तन हुन थालेपछि त्यसप्रति जनतामा नैराश्यता बढेको बताउनुभयो । उहाँले देशमा व्यवस्था परिवर्तन भए पनि जनताका विकासका चाहना पूरा नभएकाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दृढताका साथ कार्यक्षेत्रमा क्रियाशील छ भन्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विकास–निर्माणमा बाधक बनेका नीति, ऐन कानुन परिमार्जन गरेर सरकार अघि बढ्ने बताउनुभयो ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न नसक्दा विद्यार्थी र अभिभावकको आकर्षण संस्थागत विद्यालयतर्पm बढेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “सरकारले एउटा हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप प्रदान गरी व्यावसायिक बनाउने नयाँ शिक्षा नीति ल्याउने सोच बनाएको छ ।”
सरकारी खर्चअनुसार शैक्षिक गुणस्तर कायम नहुने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले विद्यालय परिसरमा निर्मित जग्गादाताको स्तम्भ र प्राविधिक (भेटेरिनरी) सञ्चालनको रजत वर्ष शिलालेखको अनावरण पनि गर्नुभएको थियो । साथै उहाँले विद्यालयका सहयोगदाता, पूर्वविद्यार्थी, उत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुभयो । माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनराज गुरुङले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्तरीय शिक्षामा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशमान रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाप्रेमी टङ्कनाथ शर्मा, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गुरुङलगायत वक्ताले गण्डकी क्षेत्रको शैक्षिक उन्नयनमा बराह माविले निर्वाह गरेको योगदानको सराहना गर्नुभयो ।
त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।