कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य

  ६ घण्टा अगाडि

काठमाडौँ, ४ पुस : नेपाल प्रिमियर लिग (एनपिएल) को दोसो क्वालिफायर खेलमा जितका लागि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई एक सय १९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनायो ।

कर्णालीका लागि गुलशन झाले २५ रन बनाउनुभयो । यस्तै ओपनर देश खनालले २४, विलियम बसिस्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले १२(१२ तथा चादविक वाल्टनले ११ रन बनाउनुभयो ।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहमद मोसिन र जेम्स निसमले दुई दुई विकेट लिनुभयो । हर्ष थाकर र शेर मल्लले एक एक विकेट झार्नुभयो ।

फाइनल प्रवेशका लागि दुवै टोलीका लागि यस खेल निकै महत्वपूर्ण छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि पाएको यो दोस्रो अवसर हो ।

यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । सुदूरपश्चिमले फाइनलमा स्थान बनाइसकेको छ । आजको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ ।

पराजित टोली तेस्रो बन्दै बाहिरिनेछ । यसअघि लिगचरणको खेलमा कर्णाली जनकपुरसँग आठ विकेटले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया