काठमाडौँ, ३ पुस : एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितका लागि एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५४ रनमा समेटियो ।
हारसँगै चितवन एनपिएलबाट बाहिरिएको छ । फाइनल पुग्न विजेता कर्णालीले पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आजै लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।
कर्णालीका लागि रवि बोपराले सर्वाधिक ५३ रन बनाउनुभयो । कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेनकेस्टनले १६ र सरद भेषवाकरले १० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा कर्णालीका जिसन मक्सुदले तीन विकेट लिनुभयो । जिसनले पूरा चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर विकेट लिनुभएको हो । कप्तान सोमपाल कामी र नन्दन यादवले दुई दुई तथा विपिन शर्माले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो ।
कर्णालीका लागि ओपनर जयकिशन कोल्छावाला र विलियम बसिस्टोले अर्धशतकीय इनिङ्स खेल्नुभयो । कोल्छावालाले ५३ र बोसिस्टोले ५२ रन बनाउनुभयो । यस्तै चादविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाउनुभयो ।
बलिङमा चितवनका सोहिल तन्विरले दुई विकेट लिनुभयो । सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक एक विकेट लिनुभयो ।
लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाएको थियो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो ।
यसअघि लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो । बुधबार (आज) नै पहिलो क्वालिफायर खेलमा लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्स प्रतिस्पर्धा हुँदैछ ।