वर्षाले नदीमा जलस्तर बढयो, मटिहानी-जलेश्वर सडक अवरुद्ध

  असार २७, २०७७

जलेश्वर, असार २७ : शुक्रबार रातिदेखि परिरहेको अjlरल वर्षाले महोत्तरीको विभिन्न ठाउँहरूमा बाढीको जोखिम बढेको छ । जिल्लामा रहेको रातो, बिग्ही, जङ्गहा, अङ्कुसी, भब्सी, माढा लगायतका नदीहरूमा जलस्तर बढेको छ भने कतिपय स्थानमा नदीको तटबन्ध कटानसमेत शुरु भएको छ ।

सदरमुकाम जलेश्वर जोडने अधिकांश सडक भएर पानी बग्न थालेको छ । जलेश्वर मटिहानी सडकखण्डमा रातिदेखि नै दुई फिटभन्दा बढी पानी सडक भएर बग्दा उक्त अवरुद्ध हुन पुगेको छ । जलेश्वर-मटिहानी सडकखण्डको सुगाभन्दा पूर्वको डाइभर्सनदेखि लिएर बहुअर्वामोडसम्म सडकबाट पानी बग्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदीहरूमा जलस्तर बढदैगएको भन्दै तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा सार्ने कार्य अगाडि बढाएको छ । अहिले पानी पर्ने क्रम रोकिएको कारणले सुरक्षाकर्मी परिचालन गरेर तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन निर्देशन दिइसकिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । जलेश्वर नगरपालिका तथा लोहारपट्टी नगरपालिकाका केही वडाहरू जोखिममा रहेकोले ती क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत वर्ष पनि असार अन्तिम साता आएको बाढीले आठ जनाको मृत्यु भएको थियो भने हजारौँ मानिस विस्थापित भएका थिए । स्थानीयबासी बाढीको समस्या यो क्षेत्रमा हरेक वर्ष दोहोरिने भए पनि यसको दीगो र प्रभावकारी उपाय अपनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्छन् । जलेश्वरका स्थानीय पप्पु साहले जनताको तटबन्ध कार्यालयले तटबन्ध निर्माण र मर्मतको लागि हरेक वर्ष कराेडाैँ खर्च गरेपनि समस्या समाधान नभएको गुनासो गर्नुभयो ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले आफ्नो नगरपालिका पनि बाढीको उच्च जोखिममा रहेको बताउँदै आफूहरूले यसको लागि प्रयास थालिसकेको बताउनुभयो । लगातारको वर्षाले नगरपालिका क्षेत्रका केही सडक डुबानमा परेको तथा खेत डुबानमा परेको बताउँदै जोखिम भएपनि आफूहरू त्यसलाई न्यूनीकरण गर्ने प्रयासमा लागेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया