शीतलप्रसाद महतो
काठमाडौँ, २३ मङ्सिर : नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक अधिराज्य हो । नेपाली सांस्कृतिक विविधताभित्र भोजपुरी संस्कृतिको आफ्नै पहिचान र महत्व छ । त्यसमा पनि प्राचीन रुपमा सम्पन्न विविध लोकनृत्य, चाडपर्व र मेला जात्राका कारण भोजपुरी संस्कृति आफैँमा गरिमापूर्ण छ । होली, दुर्गापूजा, दिपावली, छठलगायतका विभिन्न सामाजिक चाडपर्व र मेला जात्राले भोजपुरी संस्कृतिको सहिष्णुतापूर्ण इतिहासलाई झनै समृद्धशाली बनाएको छ । यस क्षेत्रमा मनाइने विविध मेला जात्रामध्ये सदा झैँ आपसी सामञ्जस्य र सद्भाव, मेलमिलाप र सौहार्दता तथा खुसी र मनोरञ्जनको पर्व आएको छ– गढीमाई मेला ।
गढीमाई मेला भोजपुरी क्षेत्र अर्थात् तराई–मधेसकै एक प्राचीन सांस्कृतिक र धार्मिक सम्पदा हुन् । यहाँ प्रत्येक पाँच वर्षमा नेपाल र छिमेकी मुलुक भारतका लाखौँ हिन्दू धर्मावलम्बी भक्तजनको भीड हुन्छन् । आफ्नो मनोकामना पूरा हुने इच्छा र विश्वासका साथ माईको दर्शनका लागि आउने श्रद्धालु भक्तजनकोे वीरगञ्जदेखि नै सडकमा लर्को देखिन्छ । मङ्सिर शुल्क सप्तमीको मध्यरातिमा सबैभन्दा पहिले गढीमाई मन्दिरका मूल पुजारी मङ्गल चौधरीले लिपपोत गरेर विधिवत् रुपमा पूजाआर्चना गरी गढीमाईलाई रिझाउँछन्, अनि माईको मूर्तिमा पाँच वर्षसम्मको पूजाआर्चना एकैपटक गर्छन् । पुजाका लागि प्रत्येक वर्ष गाउँभरिमा नै सबैभन्दा पहिले लगाएको धानबालीबाट प्राप्त धानलाई शुद्धताका साथ राखेर गढीमाईको मेला परेको वर्षमा त्यस धानलाई कुटेर निकालिएको चामलको खिर बनाई प्रसादस्वरुप माईलाई अपर्ण गरिन्छ र त्यसपछि दुईवटा हाँसको अण्डालाई बलि दिएर पूजाअर्चना गरेपछि मात्र मूल पुजारीले तान्त्रिक विधिअनसार पुजा शुरु गर्ने गर्छन् ।
मूल पुजारीले तान्त्रिक विधिअनुसार माईको पूजाआर्चना गरेपछि गाढीमाईको पुजाका लागि राखिएको दियो (बत्ती) आफैँ बल्छ र त्यसपछि मूल पुजारीले आफ्नो शरिरको महत्वपूर्ण पाँच अङ्ग जस्तै निधार, आँखाको माथिको भाग, जिब्रो, छाती र दाहिने तिघ्राको रगत दिई नरबलिको परम्परालाई कायम राखेको स्थानीय बासिन्दाहरुको भनाइ छ । मूल पुजारीले पूजा सम्पन्न गरेपछि कुभिण्डो र सेतो मुसाको बलि दिन्छन् । माईको प्रतापले बत्ती आफैंँ बल्छ र सेतो मुसो पनि कर्तबाट आइपुग्छ भन्ने जनधारणा रहे पनि अचेल सेतो मुसा जङ्गलबाट समातेर ल्याउने गरिन्छ । त्यसपछि बोका, सुँगुर, राँगा र हाँसको बलि दिने गरिन्छ ।
पञ्चवलि दिइसकेपछि मात्र श्रद्धालुलाई बलि चढाउने अनुरोध गर्ने प्रचलन रहेको छ । यो मेलाको विशेषता नै बत्ती आफैंँ बलेपछि बलि दिन शुरु गरिन्छ र बत्ती निभेपछि बलि दिन बन्द गरिन्छ । त्यसबेलासम्म बलिदिन नसकेका राँगाहरुको कान काटेर छाड्ने प्रचलन पनि रहेको छ । यो मेलामा बनारस (भारत) का डुमराजाको राँगो बलिका लागि ल्याउने गरिन्छ, जुन सबैका लागि आकर्षणका केन्द्र हुने गर्दछ । गढीमाईको मूल मन्दिरमा बलि नदिएर त्यसलाई नजिकै अर्थात करिब ७५ मिटर पूर्व रहेको ब्रह्मस्थानमा राखिएको लिङ्गोमा बलि दिइन्छ । राँगाको बलि चाहिँ सप्तमीका दिन मात्र दिइन्छ भने बोका र अन्य पशुपंक्षीको बलि अष्टमीदेखि त्रयोदशीसम्म दिइने गरिन्छ । राँगा बलिका लागि दुई बिघा क्षेत्रफलमा फैलिएको बधशालाभित्र साढे दुई सय मार हान्नेलाई मेला मूल समितिबाट अनुमतिपत्र दिइएको छ । बधशालाको पर्खाल १२ फिट उचाइमा बनाइएको छ । अघिल्लोपटक १० हजारको हाराहारीमा राँगा सयौंको सङ्ख्यामा बोका, हाँस, परेवाको बलि दिइएको थियो ।
मेलाका अवसरमा भाकल गरिएका बलि दिन नसक्नेले मकर सङ्क्रान्ति र फागुको दिन पनि बलि दिन सक्छन् । पहिले पूजाका क्रममा गढीमाई मन्दिरको वर्गाकार परिधिलाई मन्त्रद्वारा अक्षता छरेर मूल पुजारीद्वारा घेराबन्दी गरिन्छ । यसो गर्नुको उद्देश्य मेलामा कुनै प्रकारको अनिष्ट हुन नपाओस् भन्ने हो । नेपाल–भारतको विभिन्न भाग र ठाउँबाट श्रद्धालु भक्तजन गढीमाईको शुभदर्शन र भाकलको राँगा एवं बोका चढाउन आउँछन् । नेपाल र भारतबीचमा सदिऔंदेखिको सांस्कृतिक, धार्मिक र सामाजिक सम्बन्धलाई अझ सुदृढ तुल्याउनमा यस मेलाले एउटा सांस्कृतिक सेतुको काम गरेको छ ।
मेलामा बलि चढाउँदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ । मन्दिर नजिकै रहेको पोखरीमा नुहाइधुवाई गरी चोखो भएर श्रद्धालु भक्तजनहरुले गढीमाईको जय भन्दै मन्दिरमा प्रवेश गर्छन् र माईको दर्शन एवं पूजा अर्चना गर्ने गर्छन् । आज आइतबारदेखि मेलामा दिइने बलि र गढीमाई दर्शनका लागि दर्शनार्थीको ओइरो, रङ्गीचङ्गी सजावट, विभिन्न प्रदर्शनी, खेल तमासाका मनोरञ्जनात्मक दृश्य र व्यापारले मेलाको रौनक बढाएको छ । यस क्षेत्रका सर्वसाधारणले यो मेलालाई उत्सवका रूपमा मनाइरहेका छन् । सडक र मेलामा भीड बढेको छ । शक्तिपीठ गढीमाईप्रति आस्था राख्ने देश विदेशका दर्शनार्थी मेला भर्न आउने गरेकाले भीड व्यवस्थापनका लागि मेला मूल व्यवस्थापन समितिको आग्रहमा जिल्लाका अधिकांश विद्यालयको पठनपाठन शुक्रबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । यसैगरी मधेस प्रदेश सरकारले बलिका दिन प्रदेशभरि बिदा दिएको छ । यस मेलामा आउने दर्शनार्थीको सुविधाका लागि सडक, सुरक्षा, ट्राफिक, पानी, बत्ती र सञ्चारलगायतका विविध सुविधा पर्याप्त मात्रामा मिलाइएको छ ।
वीरगञ्जबाट १७ किलोमिटर पूर्व र बारा जिल्लाका सदरमुकाम कलैयावाट करीब सात किलोमिटर टाढा पसाहाखोला नजिक अवस्थित गढीमाईमा यो मेला लागेको छ । पशुपंक्षीको बलिको हिसाबले यो मेला एशियाको सबैभन्दा बढी बलि दिइने शक्ति पीठको रुपमा बिख्यात छ । अघिल्लोपटक ९० लाखभन्दा बढी दर्शनार्थीले गढीमाईको पुजाअर्चना र दर्शन गरेको तथ्याक छ । यस बर्ष करिब एक करोड मानिस मेला हेर्न आउने तथा ७० हजारभन्दा बढी पशुपंक्षीको बलि चढ्ने अनुमान मेला मूल आयोजक समितिले गरेको छ । गढीमाईमा हजारौँ पशुपक्षीको बलि चढाइए पनि त्यहाँ झिँगा भने देखिँदैन । यसलाई श्रद्धालु भक्तजनले गढीमाईको महिमाको रुपमा लिने गर्छन् । बलि दिएको राँगाको टाउकालाई ब्रह्मस्थान नजिकैको चौरमा खाल्डो खनी गाडिन्छ । मेलामा ज्यादै घुइँचोले गर्दा कलैयाबाट बरियारपुर जाने बाटोमा पर्ने पसाहा नदी पार गर्नासाथ बलि दिन थालिन्छ ।
यो मेलाको अर्को महत्वपूर्ण पक्ष भनेको मनोरन्जन पनि हो । ग्रामीण समुदायका लागि मनोरन्जन प्रदान गर्ने यो मेला एउटा सशक्त माध्यम बनेको छ । मेला अवधिभर विभिन्न थरीका पिङ (झुला), मौतका कुवा, सर्कस आदि मनोरञ्जनका साधन राखिएका छन् भने रातिको समयमा नाच र नौटङ्की हेरेर मनोरञ्जन गरिन्छ । बैष्णोदेवी मन्दिरले यसपालि मेलालाई थप आकर्षण बनाएको छ । मेलामा दुई वटा स्थानमा काठ र बाँसबाट वैष्णोदेवीको भव्य मन्दिरको निर्माण गरिएको छ । लाखौँ मानिस भेला हुने भएकाले यो मेलामा व्यापारिक कारोबार पनि राम्रै हुन्छ । आवश्यक पर्ने घरायसी सामानहरुको खरिद गर्न किसानहरुले मङ्सिरमा भित्र्याइएको धान बेचेर पैसाका जोहो गरेका हुन्छन् ।
जाडोयाममा लाग्ने यो मेलामा विशेषगरी पहाडबाट ल्याइएका सुन्तला, जडिवुटी, कम्बल, तेजपात, पहाडी फलफूलहरु, खुकुरी, घीउ र महजस्ता सामानहरु तराई वा भारतीय ग्राहकहरुले किनेर जैजान्छन् भने पहाडका ग्राहकले कपडा, फलामका सामान, भाँडाकुँडा र मसाला किन्छन् । कस्मेटिक्स र सस्ता गरगहनालगायतका सामानहरु बेच्ने पसलहरुमा महिलाको भिडभाड देखिन्छ । दही, च्यूरा, जेरीपुरी र मिठाइ बेच्ने पसलहरुलाई पनि भ्याइनभ्याइ हुन्छ ।
गढीमाई मेला आफ्नो इष्टमित्र र नातागोतासँग मिल्ने तथा भेटघाट गर्ने अवसर पनि हो । मेला लाग्ने आसपासका गाउँ र सहरका घरघरमा पाहुना भरिभराउ छन् । वीरगञ्ज, कलैयालगायत वरिपरिका गाविसहरुमा टाढाटाढाबाट मेला हेर्न आएका आफन्तहरु दुई÷चार दिन बस्ने गर्दछन्, जसलाई मेहमानी भन्ने गरिन्छ । बरियापुर नजिकका झण्डै आधादर्जन बढी गाउँमा गाउँलेहरुले मेहमानीका लागि मेला सुरु हुनुभन्दाअघिदेखि नै चामल, दाल र ओढ्ने ओछ्याउने कपडालगायतका बन्दोबस्तीका सामानहरु जोहो गरेर राखेका हुन्छन् । धर्म, कमाई र मनोरञ्जनका हिसाबले सर्वाधिक प्रख्यात यो पौराणिक मेलामा पहाडी र मधेसी समुदायको वास्तविक झझल्को पाइन्छ । यस अर्थमा गढीमाईको मेला सद्भावको मेला पनि हो । आत्मीयता, आनन्द र आस्थाको अटुट प्रदर्शनस्थलको रुपमा रहेको यस मेलालाई बढी व्यवस्थित पार्नका लागि सबै पक्षबीच समन्वय, समझदारी र सहकार्य हुनुपर्दछ ।