काठमाडौँ, १५ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा विराटनगरले बोल्ट्सलाई जितका लागि उक्त रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो ।
विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए । उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए । बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७÷७ रन बनाए ।
त्यस्तै विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुुखिया शुन्य रनमै आउट भए । विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो । जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान २-२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक-एक विकेट हात पारे ।