दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा

  ४ घण्टा अगाडि

दार्चुला, १२ मङ्सिर : राष्ट्रिय गौरवको आयोजना महाकाली करिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न सङ्घीय सरकारका दुई मन्त्री दार्चुला आइपुग्नुभएको छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल दार्चुला आइपुग्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसहितको टोली जिल्ला आइपुगेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । उक्त टोली नेपाली सेनाको हेलिकप्टरमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु पुग्नुभएको छ ।

सो टोलीले छाङ्गरुमा स्थानीयसँग छलफल गरेका छन् । राष्ट्रिय गौरवका सडकमा प्रगति नभएको भन्दै प्रधानमन्त्रीले चासो लिएपछि सडक निरीक्षणमा मन्त्रीद्वयसहितको टोली यहाँ आउनुभएको जनाइएको छ । छाङ्गरुबाट उहाँहरु सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम तय भएको प्रजिअ जोशीले बताउनुभयो ।

त्रिदेशीय सडकका रुपमा रहेको दार्चुला–तिङ्कर सडक सामरिक महत्व बोकेको सडक हो । तर हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन नसकेको गुनासो स्थानीयले गरेका छन् ।

विसं ०७७ माघ २८ देखि सडक निर्माण सुरु भएको हो । यस सडकको तुसारपानी–तिङ्करको ट्र्याक खोल्नुपर्ने ७९ किमीमध्ये हालसम्म सेनाले १३.५९ किमी मात्र ट्र्याक खुलाइएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले रु नौ करोड बजेट विनियोजन गरेको छ । उक्त रकमले १.८ किमी नयाँ ट्र्याक खोल्ने र १.२ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ  । यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म चार सय २५ किमी छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष ०८८/८९ भित्र उक्त खण्डको ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ ।

यो सडक नबन्दा सर्वसाधारण सदरमुकाम दार्चुलाबाट छाङ्गरु, तिङ्कर, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । हालैमात्र तिङ्करका स्थानीय भारतीय बाटो हुँदै खलङ्गा बसाइँ सरेका छन् । नेपालतर्फको घोरेटो बाटो हिँड्नलाई जोखिमपूर्ण छ । पशुचौपाय ल्याउन र मान्छे हिँड्न नेपालबाट सम्भव नभएपछि भारतीय बाटो हुँदै खलङ्गा झर्नुपर्ने बाध्यता रहेको व्यास गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । छाङ्गरुका स्थानीयले मन्त्रीहरुसँग नेपालतर्फ पहिले गोरटो बाटो निर्माण गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया