दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस

  मंसिर ०६, २०८१

पाँचथर, ६ मङ्सिर : जिल्लाको सूदुर उत्तरी याङवरक गाउँपालिका वडा नं. १ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरु यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन । कक्षा ८ सम्म समरजुङमा रहेको विद्यालयमा अध्ययन गरेका उनीहरुले कक्षा ९ भने च्याङथापूको बिष्णु माध्यमिक विद्यालयमा अध्ययन गर्नुपर्छ, किनकी समरजुङको विद्यालय कक्षा ८ सम्म मात्रै छ । खोलाघारीदेखि समरजुङ र च्याङथापू पुग्न करीव समान समय लाग्छ । तर समरजुङ गाउँकै बाटो हुँदै पुगिन्छ । च्याङथापु पुग्न भने शुकमायाको घरभन्दा झण्डै २०० मिटर तल रहेको मेवा खोला पाँच पटक तर्नु पर्छ ।

नातिनीहरु माथिल्लो कक्षामा पुगेर पढ्न थालेको खुशीभन्दा विद्यालय कसरी पुग्लान र कसरी फर्कलान भन्ने पीर शुकमायाको छ । “यसपालिको बर्खामा त पानी कम परेकाले घरबाटै धाए । अर्को बर्खा यसपालि जस्तो नहोला”, उहाँले भन्नुभयो, “आउँदो वर्ष डेरा बसाउनु पर्ला । बाटो छैन्, पुल पनि छैन् । भएको पुल पनि बाढीले हिर्काएर डर मर्नु भएको छ ।”

खोलाघारीकै राजेश राईका छोराछोरी पनि च्याङथापूमै पढ्दै आएका छन् । उहाँले आफ्ना छोराछोरीलाई च्याङथापूमै डेरामा राखेर पढाउन खोज्नुभएको थियो । तर छोराछोरीले अन्यसँग डेरामा बसेर पढ्न नरुचाएपछि घरैबाट धाउने गरेको उहाँको भनाइ छ । “बाढीले बाटो बगाएपछि विद्यार्थीहरुलाई एकदमै गाह्रो छ । बर्खामा पानी थपिनासाथ फड्के बगाउँछ”, उहाँले भन्नुभयो, “त्यसैले बर्खा र पानी परेको समयमा हामी नानीहरुलाई स्कुल पठाउदैनौं ।”

हुन पनि यहाँबाट करीव सवा घण्टा पैदल यात्रा गरेर च्याङथापू पुग्न मेवा खोला दुई स्थानमा झोलुङ्गे पुल तथा तीन स्थानमा फड्के तर्नुपर्छ । बालबालिकाहरुलाई दुई÷तीन वटा बाँस वा रुख तेस्र्याएर बनाइएको फड्के गर्न कठिन पर्छ । त्यसमा पनि एउटा झोलुङ्गे पुल बाढीले हिर्काएर जोखिमपूर्ण बनेको छ । “नानीहरु स्कुल जाने बाटो छैन । नानीहरुलाई स्कुल नपठाऔं भने पढाई विग्रने भयो”, पीर मान्दै राजेशले भन्नुभयो, “पठाऔं भने फर्केर आउलान कि नआउलान भन्ने तनाब हुन्छ ।”

याङवरक १ को मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौं स्थानमा झरेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा यहाँ मानिस हिँड्ने गोरेटो बाटोसमेत छैन । यसकारण यहाँका मगरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका विद्यार्थीहरु अत्यधिक प्रभावित बनेका छन् ।

च्याङथापु बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने मोटरबाटोले यी वस्तीहरुलाई समेटेको थियो । गत वर्षको असार २ गते आएको बाढीले उक्त सडकको मेवा खोलाको किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटोे बगाएको छ । मोटरबाटो नै यी वस्तीबाट च्याङथापू पुग्ने पैदल मार्ग समेत थियो । बाढीले दशकौंदेखिको गोरेटो बाटोसमेत क्षतिग्रस्त बनाउँदा बालबालिकाहरु विद्यालय जान समेत कठीन परेको हो ।

पहिरो प्रभावित क्षेत्र ‘चोक’का जसमान राईले आफ्नो कान्छो छोरालाई च्याङथापूमै डेरा खोजेर पढाउँदै आउनुभएको छ । “कान्छो छोरा च्याङथापूमै बसेर पढ्छ । घरबाट विद्यालय जान र फर्कन कठिन भयो”, उहाँले भन्नुभयो । चोककै अशोक राईको परिवार अहिले च्याङथापु बसाईं सरेको छ । अशोककी श्रीमती धनकुमारीले भन्नुभयो, “घर बस्न जोखिमपूर्ण भयो । हिउँदमा त बस्न सकिन्छ तर पहिरोको झझल्को आइरहन्छ । खास समस्या चाहिँ बालबालिका पढाउन मुस्किल भयो । त्यसैले यता आएर बसेका छौं ।”

याङवरक –१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईका अनुसार आफ्ना बालबालिकाहरुलाई पढाउनकै लागि यी क्षेत्रबाट कतिपय मानिसहरु बसाईं सरेका छन् । “कोही च्याङथापू झरेका छन् भने कोही झापा नै पुगे”, उहाँले भन्नुभयो, “सानो नानी हुने धेरै जनाले अहिले गाउँ छोडिसकेका छन् ।” फड्के तरेर स–साना बालबालिका विद्यालय पुग्न र फर्कन डरमर्दो अवस्था रहेको वडाध्यक्ष राई वताउनुहुन्छ । “विद्यालय गएका छोराछोरी घर फर्कन टुङ्गो नहुने भएपछि गाउँ छोड्ने नै भए”, उहाँले भन्नुभयो ।

२०८० साल असार २ गते आएको बाढीले मेवा खोलाको तटीय क्षेत्रमा क्षति पु¥याएको थियो । अत्यधिक वर्षापछि यत्रतत्र पहिरो जाँदा वस्ती बसेदेखि हालसम्म मानिस हिँड्ने गरेको खोला किनाराको गोरेटो बाटो समेत बगाएको स्थानीयवासी पञ्चध्वज राईको भनाइ छ ।

तपाईको प्रतिक्रिया