हेटौँडा, असार २५ : बाग्मती प्रदेशको प्रदेश सभाबाट हालसम्ममा ५४ वटा विधेयक पारित भएको छ । प्रदेश सभा गठन भएयता दर्ता भएका ५८ वटा विधेयकमध्ये चालु बर्षे अधिवेशनबाट पारित भएका तीनसहित ५४ वटा विधेयक पारित भएको हो । प्रदेश सभाको पाँचौ अधिवेशनसम्ममा ५१ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको छ ।
गत शुक्रबार विनियोजन विधेयक २०७७ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ पारित गरेको थियो । यस्तै यसअघि अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाको बैठकबाट पारित भएको थियो । प्रदेश सभाबाट पारित भएको पछिल्ला तीन वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरणको चरणमा रहेको छ ।
प्रदेश सभाको छैटौँ अधिवेशनमा दुई वटा विधेयक दर्ता भएको प्रदेश सभाका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेको छ । प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भौतिक पूर्वाधार विकास मन्त्रालयले र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा दर्ता गराएको हो ।
यस्तै, यसअघि नै प्रदेश सभामा दर्ता भएका दुई विधेयक समितिमा छलफलको क्रममा रहेका छन् । प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा छलफलको क्रममा रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
२०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु भएको प्रदेश सभाबाट पहिलो विधेयकको रुपमा प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ पारित भएको थियो ।