शान्ति सम्झौताका १८ वर्ष – दमननाथ र पद्मरत्नलाई सम्झँदा

  २३ घण्टा अगाडि

युवराज आचार्य

गत मङ्गलबार मध्यराति एउटा इमेल आयो, विद्याधर मल्लिकलाई सम्बोधन र नेपाल शान्ति प्रतिष्ठानसँग आवद्ध अरू आठजनालाई कपि गरेको । हेरेँ शान्ति र द्वन्द्व व्यवस्थापनका विश्व प्रसिद्ध प्राध्यापक जोन पल लेदरकको रैछ, नेपालको शान्ति प्रक्रियाका दुई वरिष्ठ सहजकर्तामध्ये एक दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गर्न इमेल लेखेका रहेछन्, जोन पलले । “मलाई फेरि नेपाल भ्रमण गर्न मन छ, तर अब म दुईजना दाइहरू– दमन र पद्मरत्नसँगै बस्न भने पाउने छैन । यति धेरै सम्झना छन् र वर्षौंका लागि यस्ता यस्ता प्रेरणा….।’’ त्यसै बेला ह्वाट्स ग्रुपको अर्को सन्देश देखेँ, ‘आज शुरु हुने संवाद सम्मेलनको सफलताको कामना’ बारे ।

सुत्नेबेलाको जस्तोसुकै सन्देश होस्, त्यसले निद्रा बिगार्छ, केहीबेर भए पनि । सन्देशको विषयवस्तुमा अर्थात अतितमा फर्काउँछ र दिमागमा केही नयाँ सोच उत्पन्न गराउँछ । ‘दुईजना दाइ’ र ‘संबादको संस्कृति’ दुई विषय धेरैबेर मेरो दिमागमा घुमे, निद्रा बिथोल्ने विषय बनेर । नेपाली मात्रै होइन, विदेशी विद्वानहरूले समेत ‘दाइ’ भन्ने दुवै दाइको देहावसान, १२–बुँदे सम्झौता र बृहत शान्ति सन्झौता सबैको एउटा नोभेम्बर संयोग रहेछ ।

पद्मरत्न दाइ सन् २०१८ को नोभेम्बर ४ मा बित्नु भएको थियो त्यसको छ वर्ष १३ दिन थप बाँचेर दमन दाइ नोभेम्बर १७, २०२४ मा बित्नुभयो, शान्ति सन्झौताले १८ वर्ष पूरा गर्नु चार दिनअघि । यही संयोगको चर्चा पनि हामीले दाइहरूसँग अनेकपल्ट गरेका थियौँ, एकजना खाँटी काँग्रेस अर्को खाँटी कम्युनिष्ट कसरी काँग्रेस र कम्युनिष्टका खाँटी संयुक्त दाइ बन्नु भयो ? दुवै जनाको एउटै उत्तर हुन्थ्यो, ‘संयोग’ । संयोगले दुई दाइलाई एकठाउँ ल्यायो होला, थालनी कुनै उद्देश्य–प्रेरित थियो होला तर दुई दाइको सम्बन्ध पछि अत्यन्तै भावनात्मक भयो । मैले उहाँहरू एक्लाएक्लै हुँदा एक÷दुई पटक मात्रै भेटेँ, सङ्गत गरेको भने दुईजना संयुक्त दाइ भैसकेपछि हो ।

पहिलोपटक पद्मरत्न दाइसँग सँगै ट्याक्सीमा उहाँको घरबाट सोल्टी होटल गयौँ । श्रीलङ्कामा कार्यालय रहेको रिजनल सेन्टर फर स्ट्र्याटिजिक स्टडिजको कुनै कार्यक्रममा भाग लिन आएका श्रीलङ्काली द्वन्द्ववीद कुमारा रुपसिङ्घेलाई भेट्न । यो २०६०÷६१ सालतिरको कुरा होला । पद्मरत्न दाइको शान्तिको चाहना ओठे होइन, हृदयदेखि आएको हो भन्ने मैले उहाँको रुपसिङ्घेसँगको वार्ताबाटै गहिरोसँग बुझेको हुँ । बिहान पद्मरत्न दाइसँग गफ गरेका रुपसिङ्घेले त्यही दिउँसो आर्किड होटलमा लेक्चर दिए नेपालले यसो गर्नु पर्छ, उसो गर्नु पर्छ भन्दै । हुबहु पद्मरत्नदाइका कुरा त्यहाँ थिए र सबैजसो मिडियाले प्राथमिकतासाथ छापेका थिए, नेपालीकै कुरा विदेशीको मुखबाट निस्केको थियो ।

म अनमिनमा हुँदा अलि अलि भेट भए तर म युएनडिपीमा गएपछि शान्ति निर्माणको एउटा प्रोजेक्टमा दाइहरूको अनुभव तल्लो तहका राजनीतिक कार्यकर्ता र द्वन्द्वका पक्षहरूसँग लैजाने एउटा कार्यक्रम डिजाइन ग¥र्याै । स्थानीय तहमा संवादको संस्कृति प्रवद्र्धन गर्ने, संवादको सहजकर्ताको सहजीकरण क्षमता बढाउने सो कार्यक्रमका क्रममा नै हो मैले दाइहरूसँग लामो, गहिरो सङ्गत गर्न पाएको, धनकुटादेखि धनगढीसम्म कहिले एक हप्ता, दुई हप्तासँगै डुलेको ।

जोन पलले दाइअहरूमा ठूलो बौद्धिक क्षमता देखे होला, दुईजनाको संयुक्त पहलमा शान्तिलाई प्रभाव पार्न सक्ने शक्ति देखे होला, उनले आफूले संसारभरिका द्वन्द्व व्यवस्थापनको अध्ययन गर्दा दाइहरूको शैलीलाई कुनै सिद्धान्त लगाएर हेरे होला र त्यसबाट कुनै सिद्धान्तको प्रयोग वा प्रतिवादन नै गरे होला । त्यो क्षमता ममा छैन । मैले एक मान्छे, उसको भावना, लगाव, इच्छा, तत्परता जस्ता सामान्य मानवीय पक्ष मात्रै पढ्न सकेँ ।

विसं २०७४ तिरको होला, एउटा लामो मधेश यात्रामा दमन दाइ म र पत्रकार चन्द्रकिशोर घुम्दै थियौँ । दाइ जवान हुँदाका चिनजानका मान्छेका घर समेत खोज्दै गयौँ, सर्लाहीतिरका कोइराला, महोत्तरीका मिश्रदेखि राजविराजका खुशीलाल मण्दलसम्मका घर । त्यो बेला दाइको स्मृतिलाई २०२७÷२८ सालतिर धकेल्न मैले थोत्रो टेम्पो र रिक्सामा हालेर उहाँलाई जयनगर समेत पु¥याएँ । दाइ र म दुवै त्यहाँ पुगेपछि एकछिन लोस्टाल्जिक भयौँ । दाइको काँग्रेस राजनीतिको माडर–जयनगर कनेक्सन, मेरो जीवनको पहिलो फिल्म, ‘हात्ती मेरा साथी’ हेरेको ठाउँ । दाइले नौजवान काँग्रेसी ठिटो हुँदा खद्दरको कुर्ता किनेको ठाउँ खोज्नुभयो, हामीले गम्छा–सम्छा केही किन्यौँ र सिरहा फर्कियौँ । इतिहास र राजनीतिमा रूची भएकाले दमन दाइसँग म नौ–दश दिन लामा यात्रामा निस्कँदा मेरो रूची नै इतिहास कोट्याउनु हुन्थ्यो ।

दोस्रो संविधानसभाको चुनाव आउँदै थियो, हामी एकदिन धनगढीमा थियौँ । एउटा समाचार आयो वैद्य समूहको आक्रमणमा ट्रक चालक मारिए, कता बम पड्कियो, …. । अघिल्लो संविधानसभा असफल भयो, यो दोस्रो संविधानसभा चुनाव हिँसाको मारमा पर¥यो भने अहिलेसम्मको शान्ति प्रकृया के हुन्छ ? यात्रामा दुई दाइको गफ यसैमा केन्द्रित थियो । मलाई एकजना वैद्य समूहका नेताले धेरै केन्द्रीय सदस्यहरू कैलालीको पहाडी क्षेत्र सुगरखाल कि कुनै गाउँतिर हुनुहुन्छ भन्ने सूचना दिनुभयो । हाम्रो योजना बन्यो उनीहरूलाई भेट्ने । नौ–दशजना केन्द्रस्तरका नेता कर्णाली किनारासम्म झर्ने, हामी त्यहाँ पुग्ने चाँजो मिलायौँ । दुई दाइको बुझाइ कति गहिरो छ भन्ने कुरा त्यहाँको छलफलमा देखियो । सन्देश प्रष्ट थियो न नागरिक समाज, न विदेशी, न पार्टीकै कार्यकर्ताको ठूलो पङ्ति थप द्वन्द्व बेहोर्ने–सहने पक्षमा छन् । त्यसैले थप हिँसाले एउटा क्रान्तिकारी धारको बिसर्जन गर्नेछ । वैद्य समूहका नेताको तर्क थियो यो चुनावले टालटुले संविधान बनाएर यथास्थितिलाई संस्थागत गरिंदैछ ।

ठट्टा गर्दै मैले कति पटक सोधेको छु, दमनदाइ कम्युनिष्ट हुनुभाको कि पद्मरत्न दाइ काँग्रेस हुनुभा’को दुवैको एउटै स्वर सुन्दा छुट्याउन गाहे छ । दाइहरूको एउटा जवाफ सम्झन्छु, अन्तरआत्मामा काँग्रेस–कम्युनिष्ट छिर्दैन, शान्ति, सामाजिक न्याय र मानवाधिकार जस्ता केही विषय हाम्रो अन्तरआत्माबाट आएकाले होला पार्टी नछुट्टिएको । बोलीमा यदाकदा दाइको संस्कार देखिन्थ्यो, दमन दाइको “नानी, तिमी…“, पद्मरत्न दाइको सधँै “फलाना जी, तपाइँ’’ । तर राष्ट्रिय दाइको सम्मान पाएका दुवैका संबोधनमा भएका यी साना वैयाकरणीय फरकपना कसैले ख्यालै नगर्ने । त्यसैले दुई दाइहरूको सम्बन्ध विचार, कुनै लक्ष्य वा उद्देश्यले भन्दा अन्तरआत्माले जोडेको थियो जस्तो लाग्छ ।

हरेक बिहीबार भेट्ने, देश, राजनीति, समाज कता जाँदैछ भनेर छलफल गर्ने चिया पिउने र छुट्ने । नेपाल शान्ति प्रतिष्ठानको नियमित जस्तै कार्यसूची हो । पद्मरत्न दाइको मृत्युपछि अलि पातलिए पनि स्वास्थ्यले साथ दिएसम्म दमन दाइ र डा.वीरेन्द्रप्रसाद मिश्रले बिहीबारे बैठक छुटाउन मन गर्नु भएन । तर कुरा गर्दा कुनै अदृश्य तर गहिरोसँग कोरिएको रेखाले सीमाको काम गर्दो रहेछ । दमनदाइको गम्भीर राजनैतिक–सामाजिक कुरामा थोरै अरूची चाहिँ बढेको थियो पद्मरत्न दाइको अवसानपछि । धेरै चोटी अब मेरो नि पालो आइसक्यो भन्नुहुन्थ्यो । हामी भन्थ्यौँ कालले सूची बनाएर पालो तोकेर लैजाँदैन दाइ ।

पद्मरत्न दाइको मृत्युको एक÷दुई महिना दाइको केही गर्ने जाँगर देखिएन, तर एकदिन अचानक बिनोद भट्टराइले अर्को कसले मेरो अलि अलि स्मरण डकुमेण्ट गरेको छ, हेर्नु त । मैले दुई वटा कम्प्युटर खोजेपछि केही फाइल फेला पारेँ । दाइ कहिले काहिँ दिउँसो एक्लै पनि आउने, मैले बीसौँ पटक लेख्न थालौँ दाइ, थाले सकिन्छ, पूरा तयारी गरेर थाल्छु भन्दा थाल्नै समय लाग्छ । मैले ६० वटा जति प्रमुख घटना सम्झनुस्, एक पेज मात्रै लेख्नुस्, तन्काउने काम अरूको हो भनेँ । राजी हुनु भएको थियो तर थाल्दै थाल्नु भएन । दाइ काममा नि परिपक्वतावादी, उहाँले ‘थाल्दै गर्ने’, साना निबन्धलाई पछि तन्काउने भन्ने मेरो तरिकालाई स्वीकार नै गर्नु भएन, दमन ढुङ्गानाको आत्मकथा आयो भनेपछि समाजले गम्भीर रूपमा हेर्छ भन्ने मनोविज्ञान दाइमा थियो । दाइको दिमागबाट एकैपल्टमा निस्कने गम्भीर लेखनको भूतले छोडेन । पद्मरत्न दाइ जीवित हुँदै आधा दर्जन जति भिडियो मेकर, लेखक आए, दमन दाइको नै अन्तर्वार्ता समेत गरे तर दमन दाइले लेखनलाई सामान्यीकरण गर्नै सक्नु भएन, लेखन भनेको ठूलो विषय बनाएरै बस्नुभयो ।

माथि भने झैँ धनगढीदेखि धनकुटासम्म यात्रा गर्दा नि दाइको ६०–६५ वर्षको स्मरण नदोहोरिने । विशेषगरी कुनै घटनामा दमन दाइ र पद्मरत्न दाइको अनुभूति अति नै चाखलाग्दा । २०४६ सालको आन्दोलनका बेला जेल सरुवा गरेर रसुवा लैजाँदाको अनुभूति, सभामुख नियुक्त भएपछि संसदको पहिलो अधिवेशन आह्वान गर्ने विषयमा दरवारसँग भएको खटपट, काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भएको असमझदारीदेखि २०७४ सालको चुनाव लड्ने निर्णयसम्मका दमन दाइका कथा नलेखिइ मरे । पद्मरत्न दाइका दरवारको भेटने निम्तो आएका दिन दौरा सुरुवाल नभएर भएको छटपटि, ३० मिनेटको भनेको भेट राजा वीरेन्द्रले डेढ घण्टा लम्ब्याएको प्रसङ्ग, गाइ काट्ने प्रसङ्ग आदिका समाचार त पढियो । कति ठूलामान्छेको सामाजिक जीवन मात्रै समाजले देख्छ कारण उनीहरूको निजी जीवन आफ्नै व्यक्तित्वको ओझेलमा परेको हुन्छ । मलाई चाहिँ राजनीति, दर्शनका ठूला–ठूला कुराभन्दा उनीहरूका व्यक्तिगत अनुभूतिले बढी बाँध्छ ।

राजनीति, इतिहासपछि हामीले धेरै गफ गरेका अर्का दुई विषय थिए मृत्यु र स्वास्थ्य । सन् २०१२–१३ तिर होला हामी भेडेटार पुगेका थियौँ, एकजना पूर्व राजदूतले दमन दाइ र पद्मरत्न दाइलाई लिएर धनकुटा जानुभयो । त्यहाँ नागरिक समाज भेला भएर भाषणबाजी चलेछ राति ८ बजेसम्म । दुवै दाइको औषधिको समय घड्कियो, खानाको सन्तुलन बिग्रियो । उहाँहरूको अनुहार हेर्दा अत्यन्तै शिथिल । यात्रामा मैले खाना र औषधि चाहीँ अत्यन्तै ख्याल गर्ने दुई विषय हुन्, त्यो दिन दुबै बिग्रियो । खाना खाँदा दमनदाइले भन्नुभयो यो उमेर भयो, यस्तैमा फुस्स गइन्छ कुन दिन । मैले भने, “कालले उमेर हेर्छ र दाइ ?“ तर पनि दाइहरूको उमेर र स्वास्थ्य हेरेर डर चाहिँ लागि रहने । अलगअलग कोठामा सुत्नु भएको दाइहरूको ढोकाको प्वालमा कान थापेर राति पनि पट पटक घुरेको आवाज सुनेको छु । सायद मैले खाना, औषधि, र आरामलाई बढि महत्व दिएको देखेरै दाइहरू विश्वस्त हुनुभयो होला, काठमाडौं बाहिर जाँदा परिवारका सदस्य लैजान छोड्नुभयो ।

मृत्यु साश्वत हो । ७७ वर्ष वा ८२ वर्ष अर्थपूर्ण जीवन बाँचेर मर्नु ‘असामयिक’ होइन । दुई दाइको एउटा बिरासत छ, त्यसको निरन्तरता भने अब छैन । अर्थात् काँग्रेस–कम्युनिष्टमा विभाजित हाम्रो राजनीतिक समाजमा साझा दाइ वा दिदी छैनन् । बिरासतलाई जोगाउने उहाँहरूका स्मरण आदि हुन्, पद्मरत्न दाइका केही विचार प्रकाशित छन्, पुस्तककै रूपमा तर दमन दाइका स्मरण केही नजीकका सहयोगीसँग सुरक्षित छन कि छैनन् थाहा छैन् । मलाई अहिले पछुतो छ, दश–पन्ध्र वर्ष सङ्गत गर्दा, तीन÷चार वर्ष तुलनात्मक रूपमा फुर्सदै हुँदा मैले त्यो काम गर्नु पथ्र्याे । मैले सोचेको नि हो, तर गर्न सकिन ।

शान्ति सम्झौताको १८ वर्ष पूरा भएका दिन आज म दुई दाइलाई स्मरण गर्न चाहन्छु । दमन दाइसँगको अन्तिम भेट नि भदौ १५ मा थियो त्यो पनि शान्ति सम्झौताकै अभिन्न अङ्ग, सङ्क्रमणकालीन न्यायका सन्दर्भमा । शान्ति प्रकृयामा प्राप्त गरेका उपलब्धिको समीक्षा गर्ने बेला समेत भएको छ । संविधान बन्यो, सेनाको व्यवस्थापन भयो तर सङ्क्रमणकालीन न्यायको मुद्दा आफ्ना मान्छे राखेर आफू अनुकूल गर्ने दाउपेचमै लड्किरहेको छ, आर्थिक–सामाजिक रूपान्तरणको मुद्दा कसैले उच्चारण गर्न छोडिसके । सफलता र गर्न बाँकी काम सम्झँदा दुबै दाइको निरन्तरको चासोहरू झनै सम्झना आउँछन् । दुबै दाइहरुप्रति हार्दिक श्रद्धाञ्जलि । (लेखक पत्रकार एवं नेपाल शान्ति प्रतिष्ठानको महासचिव हुनुहुन्छ)

तपाईको प्रतिक्रिया