सुर्खेत, असार २५ : कर्णालीमा थप ११ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीबार चार जिल्लाका थप ११ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५६१ पुगेको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका पाँच जना र दैलेखका एक जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यस्तै चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा रुकुमपश्चिमका चार जना र जाजरकोटका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै बिहिबार थप ३० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । दुल्लु अस्पताल दैलेखबाट १० जना, प्रदेश अस्पताल सुर्खेत १३ जना र चौरजहारी अस्पताल रुकुमपश्चिमबाट सात जना निको भएर घर गएका हुन् । कर्णालीमा अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या एक हजार ३२१ पुगेको छ ।
अब सक्रिय सङ्क्रमित सङ्ख्या २३४ रहेको छ । कर्णालीमा अहिलेसम्म कोरोनाका कारण छ जनाको मृत्यु भएको छ ।