लागुऔषधका थुनुवाले भरिन थाले प्रहरी हिरासत

  ५ घण्टा अगाडि

झापा, २ मङ्सिर (रासस) : “अरुको लहैलहैमा लागेर सुरुमा उनीहरु अर्काले दिएको लागुऔषध खान्छन् । केही समयपछि लत बस्छ । अनि, आवश्यकताले खोजीखोजी किनेर खान थाल्छन् । जब कुलत हाबी हुन्छ, उनीहरुलाई लाज, घिन र सरम भन्ने कुनै बोध हुँदैन । आफैँ कारोबारी बनेर अरुलाई बेच्न नयाँ प्रयोगकर्ता फकाउन थाल्छन् ।”

दुई दशकभन्दाअघिदेखि लागुऔषध नियन्त्रण र क्षति न्यूनीकरण अभियानमा होमिनुभएका मेचीनगर–६ का सामाजिक अगुवा सोमराज ढकालको भनाइ हो यो । झापा, मोरङ, इलामलगायत पूर्वी नेपालको सीमावर्ती क्षेत्रहरुमा अभियान सञ्चालन गर्दा एउटा प्रयोगकर्ता लागुऔषधको दुष्चक्रमा फसेर कसरी कारोबारीमा बदलिन्छ र समाजमा दुव्र्यसनको डढेलो फैलाउँछ भन्ने उदेकलाग्दो कैयाँै दृष्टान्त आफूले देखेको उहाँले बताउनुभयो ।

झापामा लागुऔषधको डढेलो कतिसम्म फैलिँदै गएको छ भन्ने थाहा पाउन प्रहरीले दिनहुँ सीमाक्षेत्रबाट लागुऔषध ओसारिरहेका युवालाई पक्राउ गरेको तथ्याङ्क हेरे पुग्छ । हरेक दिन जिल्लामा केही युवा खैरो हेरोइनसहित काँकडभिट्टा र भद्रपुर नाकाबाट पक्राउ परेकै हुन्छन् । पक्राउ परेकामध्ये अधिकांश युवा छन् । सामाजिक अभियन्ता ढकालले भने झैँ लतमा फसिसकेका युवा नै अवैध धन्धामा लागेर आफ्नो खुराक जुटाउने क्रममा सीमा क्षेत्रमा पक्राउपर्ने गरेका छन् । किनेर खाने आम्दानीको अरु बाटो नभेटेपछि प्रयोगकर्ताहरु नै कारोबारी बन्ने गरेका हुन् ।

आर्थिक वर्ष २०७८ साउनदेखि २०८१ असार मसान्तसम्मको तीनवर्षे अवधिमा झापामा एक हजार एक सय पाँच जना लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताउनुभयो । यो अवधिमा सात सय तीन जनाविरुद्ध लागुऔषध अपराधअन्तर्गत मुद्दा दर्ता भएका छन् । पक्राउपर्ने अधिकांशलाई लागुऔषध ओसारपसार गरेको अभियोग लाग्ने गरेको छ । जिल्लाभरमा पक्राउ पर्नेमा लगभग आधाजति पूर्वीनाका काँकडभिट्टाबाटै पक्राउपर्ने गरेको देखिएको छ ।

राजमार्गको निर्माण भएदेखि नै काँकडभिट्टाले पूर्वीप्रवेशद्वारका रुपमा जति चर्चा बटुलेको छ, त्यसमा अवैध कारोबारका कारण बद्नामी उत्तिकै कमाएको छ । चोरी तस्करीको अखडाको रुपमा बाह्य क्षेत्रबाट आउने व्यक्तिहरुको अवैध गतिविधिका कारण यो सीमा क्षेत्रले बद्नामी कमाउने गरेको छ । भारतको सिक्किम, दार्जिलिङ, सिलिगुढी, आसामलगायतका क्षेत्रबाट यहाँ आउने र अवैध धन्धा चलाउने गरेको स्थानीयवासीको आरोप छ । बाहिरी जिल्लाका मानिसले लागुऔषध लगायतको अवैध ओसारपसारका लागि काँकडभिट्टा नाका रोज्ने गरेका छन् ।

पूर्वीनाका काँकडभिट्टामा रहेको इलाका प्रहरी कार्यालयको थुनुवाकक्षमा मङ्सिरको पहिलो दिन ४५ जना रहेका थिए । तीमध्ये ३५ जना लागुऔषध अभियागसँग सम्बद्ध थिए । काँकडभिट्टा मात्र होइन मुद्दा चलाउने अन्य इलाका र जिल्ला प्रहरी कार्यालयमा समेत लागुऔषध मुद्दाकै चाप बढेको देखिन्छ । कारागारमा समेत यही मुद्दाका कैदीबन्दी धेरै रहेका छन् ।

काँकडभिट्टा इप्रकामा महिला र पुरुष थुनुवाका लागि छुट्टाछुट्टै हिरासत कक्ष बनाइएको छ । महिला थुनुवा नभएका कारण दुबै थुनुवाकक्षमा पुरुषलाई राख्न थालिएको हो । म्याद थप्न जिल्ला अदालत लैजान र ल्याउन हरेक दिन सवारी साधन प्रयोग गर्नुपर्ने र राज्यका तर्फबाट थुनुवालाई दैनिक रु एक सय २० सिदा दिनुपर्ने भएकाले थुनुवा बढ्दा इप्रका काँकडभिट्टा र राज्यलाई भार बढिरहेको छ ।

पछिल्लो समय मलद्वारमा खाँदेर सीमामा लागुऔषधको ओसारपसार गर्ने प्रवृत्ति बढेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी चन्दले बताउनुभयो । “प्लास्टिकमा पोको पारेर मलद्वारमा राख्दा रहेछन्”, उहाँले भन्नुभयो, “तालिम प्राप्त कुकुर समेत प्रयोग गरेर नाकामा निगरानी बढाएका छौँ । अभियुक्तहरु धमाधम पक्राउ परिरहेका छन् ।”

यही कात्तिक २७ गते रौतहट जिल्ला गरुडा गाउँपालिका–५ का २१ वर्षीय रमोधराय यादवलाई प्रहरीले चेकजाँच गर्दा साथमा केही भेटिएन । तर, प्रहरीको भरपर्दो सुराकीले निजसँग लागुऔषध रहेको जनाएपछि प्रहरीले यादवको मलद्वारबाट खैरो हेरोइन निकाल्यो । चन्दका अनुसार कात्तिक २४ गते अपराह्न ३ः३० बजे भारतबाट सिटी रिक्सामा नेपाल आउँदै गरेका सिक्किमको सिंगेथान निवासी २१ वर्षीय विक्रम क्षेत्री १० ग्राम प्रतिबन्धित खैरो हेरोइनसहित पक्राउ परे ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–८ मा अस्थायी बसोबास गर्दै आएका क्षेत्री पनि मलद्वारभित्र प्लास्टिकको थैलोमा खैरो हेरोइन लुकाएर ल्याउँदै गर्दा पक्राउ परेका थिए । “प्लास्टिकको पोका पारी मलद्वारमा राखी लुकाइछिपाई ल्याउँदै गर्दा मेची पुलमा खटिएको लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाको टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो,” उहाँले भन्नुभयो–“अभियुक्तलाई काँकडभिट्टा इप्रकामा राखेर थप अनुसन्धान भइरहेको छ ।” कात्तिकको तेस्रो साता भद्रपुरस्थित मेची पुलमा ढाडमा लागुऔषधको पोका लुकाएर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा स्कुटर चालक युवती पक्राउ परेकी थिइन् । पक्राउ परेकी भद्रपुर नगरपालिका–९ निवासी २८ वर्षीया एसिया लिम्बुले लागुऔषध ओसार्न प्रदेश १–०१–०१४ प ९२६६ नम्बरको स्कुटर प्रयोग गरेकी थिइन् ।

लागुऔषधका कारोबारी र प्रयोगकर्ताहरुले पछिल्लो समय शरीरका गुप्ताङ्गमा लुकाएर भारतबाट लागुऔषध ल्याउने शैली अपनाएको पाइएको प्रहरीको भनाइ छ । प्रहरीले झापाको काँकडभिट्टा, भद्रपुरलगायत नाकामा लागुऔषधको ओसारपसारविरुद्ध निगरानी कडा तुल्याउँदै आएको छ । झापामा आव २०७८÷७९, २०७९÷८० र २०८०÷८१ मा जम्मा ९७ केजी गाँजा र छ केजी खैरो हेरोइन प्रहरीले बरामद गरेको जनाएको छ । नाकाहरुमा नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्युरोको छुट्टै टोली खटाउने गरेको छ । टोलीले नाकामा बसेर लागुऔषधसम्बन्धी ओसारपसार नियन्त्रण र आरोपी पक्राउ गर्दै आएको छ ।

झापामा २० हजारभन्दा बढी खैरो हेरोइनका प्रयोगकर्ता रहेको ब्युरोको जनाएको छ । भारतको सीमावर्ती बजारहरु पानीट्याङ्की, गलगलिया र डिगलबैंकमा खैरो हेरोइन पाइने भएकाले नेपाली युवाहरु सीमा निगरानीको जोखिम मोलेरै त्यहाँ पुग्ने गर्छन् । ओसारपसारको क्रममा उनीहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् ।

लागुऔषध नियन्त्रण ऐन २०३३ ले लागुऔषध भनी तोकिएका सामान ओसारपसार गर्नुलाई अपराध ठहर गरेको छ । कहिलेकाहीँ सेवनका लागि साथमा लागुऔषध राखेका प्रयोगकर्तासमेत यही कानुनी व्यवस्थाबमोजिम कारबाहीमा पर्ने गरेको अधिवक्ता मणि पराजुली बताउनुहुन्छ । लागुऔषधका प्रयोगकर्ताहरु सहर जत्तिकै गाउँमा बढिरहेको र नियन्त्रणका ठोस उपायहरु कतैबाट नखोजिएको हुँदा समस्या भयावह रुपमा बढिरहेको पराजुलीको धारणा छ । “प्रहरीका हिरासत मात्र होइन, कारागारहरु पनि लागुऔषध मुद्दामा पूर्पक्षका लागि थुना परेका र अभियोग प्रमाणित भई कैदी बनेकाहरुले भरिभराउ हुन थालिसकेका छन्”, उहाँ भन्नुहुन्छ, “प्रहरीले पक्रेर मुद्दा लगाउँदैमा यसको समाधान हुँदैन । सेवन गर्नु हुँदैन भन्ने जनचेतना नआएसम्म समस्या घट्ने देखिदैन ।”

काँकडभिट्टा इलाका प्रहरी कार्यालयले आव २०८०/८१ मा पाँच महिला, एक बालक र एक तेस्रो लिंगीसहित ८२ जनालाई लागुऔषध मुद्दामा पक्राउ गरेको थियो । चालू आव २०८१/८२ को चार महिनामा सोही मुद्धामा ५६ जना पक्राउ परिसकेका छन् । लागुऔषधको सेवनकर्तामा हुने रोग सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि संस्थागत रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको रिचमोन्ड फेलोसिप मोरङका परियोजना प्रमुख सोमराज ढकालले झापामा ९०० जना प्रयोगकर्ताहरु संस्थाको सम्पर्कमा रहेको बताउनुभयो । “एचआइभीलगायतका कुनै सङ्क्रामक रोगको जोखिम नहोस् भनेर हामी उनीहरुको नियमित सम्पर्कमा हुन्छाँैं, ता कि लागुऔषधको लत न्यूनीकरण पनि होस्”, ढकालले भन्नुभयो । भद्रपुरमा दैनिक एक सय २० जना लागुऔषधका प्रयोगकर्ताले मौखिक प्रतिस्थापन उपचार पद्दतिबाट कुलत छाड्ने प्रयास गरिरहेको समेत उहाँले बताउनुभयो ।

नेपाल सरकारले पछिल्लोपटक २०७६ सालमा लागुऔषधका प्रयोगकर्ताहरुका बारेमा राष्ट्रिय सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणले मुलुकमा यसको डढेलो भयावह रुपमा फैलिइरहेको तस्वीर बाहिर ल्याएको थियो । सर्वेक्षणअनुसार २०७६ सालसम्ममा एक लाख ३० हजार चार सय २४ लागुऔषधका प्रयोगकर्ता थिए । त्यसमध्ये पुरुष एक लाख २१ हजार छ सय ९२ जना र महिला आठ हजार सात सय ३२ जना थिए । विसं २०६३ मा ४६ हजार तीन सय नौ जना मात्र रहेकामा २०६९ सालमा यो सङ्ख्या बढेर ९१ हजार पाँच सय ३४ जना पुगेको सर्वेक्षणले देखाएको लागुऔषधविरुद्ध विभिन्न परियोजनामा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका मेचीनगरका गोविन्द न्यौपाने बताउनुहुन्छ । नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.६ प्रतिशत रहेको जनाउँदै उहाँले ९० प्रतिशत प्रयोगकर्ता ३० वर्षमुनिको रहेको जानकारी दिनुभयो । प्रयोगकर्तामध्ये २० प्रतिशतले आफ्नै घरलाई सेवन गर्ने थलो बनाएको र साथीसङ्गीको दबाबमा परेर कुलतमा फसेकाहरु ६८ प्रतिशत रहेका छन् ।

तपाईको प्रतिक्रिया