विराटनगर, १ मङ्सिर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन निर्देशन दिनुभएको छ । आफू निर्वाचित भएको क्षेत्रमा भएका विकास निर्माण कार्यको आज अनुगमन गर्दै उहाँले जनतासँग जोडिएको विकास मात्र दिगो हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका–३ सानो केर्खामा निर्माण हुन लागेको ‘चिल्ड्रेन पार्क’ निर्माणस्थलको निरीक्षण गर्नुभयो । सो पार्क १२ कट्ठा जग्गामा निर्माण हुन लागेको हो । पार्क निर्माणस्थलको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले सहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई स्थानीयवासीको सहकार्यमा काम गर्न निर्देशन दिनुभयो ।
पार्कसम्म जानका लागि गत वर्ष पर्यटन मन्त्रालयको रु २५ लाख लागतमा ५८ मिटर लम्बाइ र साढे तीन मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पत्र भएको स्थानीय टिकाराम भण्डारीले बताउनुभयो ।