काठमाडौँ, असार २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेका मध्ये विदेशमा श्रम गर्न गएका तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको संरक्षण तत्काल गर्नु जरुरी रहेको बताउनुभएको छ ।
उनीहरूको सामाजिक तथा स्वास्थ्य सुरक्षामा ध्यान दिएर नै कोभिड–१९ को असरलाई न्यून गर्न सकिनेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।
अन्तराष्ट्रिय श्रम सङ्गठन(आइएलओ)ले बुधबार आयोजना गरेको विश्वव्यापी कोभिड–१९ सम्मेलनमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यतिबेला सङ्कटपूर्ण अवस्थामा रहेका र श्रमिकका समस्या समाधान गर्न विश्वव्यापी एकता र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
“विश्वव्यापी लगानी, व्यापार र यातायात उद्योगमा अवरोधका कारण विश्व अर्थतन्त्रले ठूलो क्षति व्यहाेरेकाे छ, जसले लाखौँ श्रमिक र उद्यमलाई कमजोर बनाएको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसको प्रभाव अति कम विकसित र कम आय भएका देशहरूमा असमान रूपमा बढी छ ।”
मानवकेन्द्रित एजेन्डालाई समर्थन व्यक्त गर्दै उहाँले संयुक्त राष्ट्र सङ्घ र केन्द्रमा रहेका आईएलओ जस्ता विशेष एजेन्सीहरूले महामारीको लागि कडा विश्वव्यापी प्रतिक्रिया दिनुपर्ने औँल्याउनुभयो ।
प्रवासी कामदारहरूले रोजगार र आयको संरक्षणबिना नै महामारीको बीचमा आशा गुमाउँदै घर फर्कर्नुपरेको भन्दै प्रधानमन्त्री ओलीले यस विषयमा विश्वस्वास्थ्य सङ्गठनका नियमहरू अवलम्बन पहिल्यै गर्न सकेको भए यस्तो अवस्थाबाट बच्नसकिने सम्भावना रहेको समेत प्रष्ट पार्नुभयो ।
“सङ्कटको समयमा मानवताको परीक्षण हुन्छ, हाम्रो विवेकले न्याय र निष्पक्षतालाई उच्च कठिनाइको समयमा पनि समर्थन गर्न निर्देशन दिनुपर्दछ,” प्रधानमन्त्रीले सम्बोधनका क्रममा नेपालका तर्फबाट सन्देश दिनुभयो ।
यस समयमा अन्तर्राष्ट्रिय एकताले हाल भइरहेको आकलनविपरीत उल्टो परिणाम हुनसक्ने उल्लेख गर्दै रोजगारी गुमाउने, आप्रवासी कामदारहरूको फिर्ती र दिगो विकास प्रगति हुनसक्ने र गरीबीको बृद्धिलाई समेत रोक्न सकिने उहाँले दर्शाउनुभयो ।
प्रधानमन्त्रीले कोभिड–१९ महामारीको प्रभावलाई रोक्न र रोकथामका लागि नेपाल सरकारले गरेका प्रयासहरूको बारेमा त्यस सम्मेलनमा जानकारी दिनुभयो । उहाँले औपचारिक र अनौपचारिक क्षेत्रमा श्रमिकहरूको संरक्षण र दिगो रोजगारीको अवसर सिर्जना गर्नका लागि तत्काल र मध्यावधि उपायहरू अनपनाउनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय स्तरमा भएका साझेदारी र सामाजिक संवादप्रति उहाँले थप प्रतिबद्धता व्यक्त गर्दै विश्वव्यापी अवस्थालाई सम्बोधन गर्न अझ बढी ऐक्यवद्धता हुनुपर्नेमा जोड दिनुभयो ।
विश्वव्यापी सम्मेलनमा विश्वका राज्य र सरकारका प्रमुख, रोजगारदाता सङ्गठनहरू र ट्रेड युनियनहरूका प्रमुख नेताहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका प्रमुखहरू एकै थलोमा भेला भएर समाधानको उपायबारे छलफल गरिएको थियो ।
साथै लाखौँ कामदारहरूको रोजगारी र जीविकोपार्जनमा कोभिड–१९ र यसको प्रभाव न्यूनीकरणका लागि भएका विश्वव्यापी पहल र हरेक देशमा रहेको विभिन्न वर्गका श्रमिकको अवस्थाको बारेमा अनुभव साटासाट गरिएको थियो ।