लण्डन, १७ कात्तिक : बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन हुनुभएको छ ।
जात, लिङ्ग र एलजिबिटी अधिकारको इन्कारजस्ता सामाजिक असमानताहरूको व्यापक जागरूकतालाई सन्दर्भित गर्न सन् २०१० पछि ‘एन्टी वोक’ अभियानको प्रयोग गरिन थालिएको थियो ।
पूर्व अध्यागमनमन्त्री रोबर्ट जेनरिकसँगको प्रतिस्पर्धामा ४४ वर्षीय बदेनोचले ५७ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
पार्टी नेता निर्वाचित भएपछि उहाँले भन्नुभयो, “पार्टीको नेता बन्नु ठूलो सम्मानको कुरा हो, तर हाम्रो अगाडि उभिएको काम कठिन छ ।”
“हामीले गल्ती गरेको तथ्यप्रति हामी इमानदार हुनुपर्छ र मानकहरू थप खस्किने अवस्थामा देखिएका छन्,” उहाँले भन्नुभयो, “यो व्यवसायमा जाने समय हो, नवीकरण गर्ने समय हो ।’’
१४ वर्ष सत्तामा रहेर गत जुलाईमा सत्ताबाट हटेको विभाजित र कमजोर पार्टीलाई पुनः एकताबद्ध गर्ने चुनौतीपूर्ण कार्य अहिले जुझारु पूर्वमन्त्रीसमक्ष आएको छ ।
ब्रेक्जिटका प्रमुख निगेल फराजको नेतृत्वमा रहेको दक्षिणपन्थी रिफर्म यूके पार्टीलाई समर्थन को प्रवाहलाई रोक्दै उनले जनताको विश्वास पुनः प्राप्त गर्ने रणनीति बनाउनुपर्छ ।
दक्षिणपन्थी मञ्चमा अभियान चलाउनुभएका उहाँले टोरी सांसदहरूको पङ्क्तिमा भविष्यमा कठिनाइहरूको सम्भावनाको पनि सामना गरिरहनुभएको छ, जसमा धेरै मध्यमार्गीहरू पनि सामेल छन् ।
नाइजेरियाली आमाबाबुको कोखबाट लन्डनमा जन्मिएकी र लागोसमा हुर्केकी बदेनोचले आफ्नो पार्टी लैङ्गिक पहिचानजस्ता सामाजिक मुद्दाहरूमा उदार बन्दै गएको आरोप लगाउँदै रूढिवादी मूल्यमान्यतामा फर्कन आह्वान गर्नुभएको छ । (रासस/एएफपी)