काठमाडौँ, १५ कात्तिक (रासस) :
ॐ ह्रीम क्लिम श्री लक्ष्मीभ्यो नमः
लक्ष्मी वैदिक सनातन हिन्दू संस्कारमा धन तथा सुन्दरताकी देवी हुन् । लक्ष्मी शब्द सर्वप्रथम ऋग्वेदको पुरुषसुक्तमा उल्लेख गरिएको थियो । शास्त्रअनुसार सर्वाेत्तम अवस्थामा भगवान विष्णु र उनको शक्ति लक्ष्मी एकै परमात्मा हुन् भनिएको छ । अर्को भाषामा स्त्रीलाई चौसठ्ठी कला मानिएको छ र ती चौसठ्ठी कलायुक्त महिलालाई लक्ष्मी भनिन्छ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ । भगवती दुर्गाको हजार नाममा एक नाम लक्ष्मी हो ।
लक्ष्मी पूजामा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्जना गरिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रब्यलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी पुजा गर्ने चलन छ । वैदिक सनातन हिन्दू संस्कारमा यसलाई अत्यन्त महत्वका रुपमा लिइन्छ । लक्ष्मी भन्ने बित्तिकै हामी धनमात्र हो भन्ने बुझ्छौँ । यद्यपि लक्ष्मीका विभिन्न आठ रुपहरु छन् । तिहारको अवसरमा लक्ष्मीको बिषेश महत्व रहने भएकाले आज लक्ष्मीको आठ रुप अर्थात् अष्टलक्ष्मीको बारेमा चर्चा गर्नेछौँ ।
लक्ष्मीको आठ रुपलाई अष्टलक्ष्मी भनिन्छ । लक्ष्मी पूजाको दिन घरमा भएका सम्पूर्ण श्रीसम्पत्ति, गरगहना, द्रव्य आदिलाई मात्र पूजा गर्छौं । धनलक्ष्मीको कृपाद्वारा पैसा जीवनमा प्राप्त हुन्छ तर पर्याप्त खुसी नहुन सक्छ । धनकै कारण मनमा शान्ति नहुन सक्दछ । व्यक्तिसँग पर्याप्त धन हुन्छ तर बिरामी हुने कारणले आफ्नो मनले चाहेको खाना खान सक्दैन, घुमफिर गर्न सक्दैन । शारीरिक रुपमा अस्वस्थ रहन सक्छ भने त्यस्तो धन के काम ? व्यक्तिसँग धन छ तर धनको उचित सदुपयोग छैन, काम गर्ने उत्साह छैन लक्ष्य उद्देश्य प्राप्त गर्न सक्दैन, धनको सदुपयोग गर्ने साधन छैन, सन्तान छैन, शिक्षादीक्षा राम्रो छैन, सामाजिक मान प्रतिष्ठा छैन, पारिवारिक शान्ति छैन । यी सम्पूर्ण विषय अष्टलक्ष्मीसँग जोडिएका छन् ।
अर्कोतर्फ मानिसले जीवनमा जति पैसा कमाउँछ थप कमाउने लालसा आउँछ । लालसाको कारण मानिस धेरै धन थुपार्ने चक्करमा आफ्नो खुसी गुमाउन पुग्छ । धन कमाए पनि पारिवारिक कलह रहन्छ । व्यक्तिको जीवनमा धन आउँछ तर जीवन धनले मात्र पूर्ण हुँदैन किनकी हामीले लक्ष्मीका अन्य सात रुपको उपेक्षा गरेका हुन्छौंँ । जसले जीवनमा समग्र खुसीयाली रहँदैन । वास्तुशास्त्रमा लक्ष्मीका आठ रुपको विभिन्न आठ दिशा तथा विदिशा बताइएको छ । हामीले वास्तुअनुसार घरको आठै दिशाहरुलाई वास्तु अनुकुल बनाए मात्र लक्ष्मीको आठै रुपको समान कृपा प्राप्त हुन्छ । जसले व्यक्तिको जीवनमा खुशीयाली छाउनुका साथै स्वस्थ र सम्पन्नता प्राप्त हुन्छ । वास्तुशास्त्रअनुसार अष्टलक्ष्मीले आठ दिशामा बास गर्ने गर्दछन् । यी अष्टलक्ष्मीको बारेमा विस्तृतरुपमा निम्नानुसार चर्चा महत्वपूर्ण छ ।
१.आदि लक्ष्मी÷आद्यलक्ष्मी÷महालक्ष्मी :
आध्यात्मिक ज्ञानलाई नै आदि लक्ष्मी भनिन्छ । धनवान्, सम्पन्न, अध्यात्म, सात्विक भोजन, दुर्गाको पहिलो शक्ति, ब्रह्माण्डीय ऊर्जाशक्ति, धनको उत्पति र ऊर्जाको अनन्त स्रोतको प्रतिक वा आदिम् रुप पनि भन्न सकिन्छ । म को हुँ ? मेरो जीवनको उद्देश्य के हो ? आफूलाई चिन्ने आफ्नो अन्तर्मनसँग जोड्ने, आत्मसँग साक्षात्कार गर्ने काम आदि लक्ष्मीको हो । आदि लक्ष्मीको कृपाले व्यक्ति माया र सद्भाव राख्ने, परोपकारी तथा सहयोगी बन्छ । वास्तुमा आदिलक्ष्मीको दिशा इशान् कोण हो । यस दिशाबाट मानसिक सुख र आनन्द छ छैन हेर्ने गरिन्छ । यो दिशा गुरु वृहस्पतिको रहेकोले गुरुको कृपा छ छैन जाँच गर्न सकिन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा यी गुण सहज प्राप्त हुन्छ अन्यथा वुद्घि, विवेक, विचारहरु, इच्छा, चाहना, उत्प्रेरणा, स्पष्टता, रचनात्मक सोचाइ आदिमा कमी आउँछ ।
२.धन–लक्ष्मी :
धन–लक्ष्मी भौतिक धन र आर्थिक प्रचुरताकी देवी हुन् । समृद्घि र आर्थिक स्थिरता कायम गर्ने काम धन–लक्ष्मीको हो । पैसा, सुन, चाँदी, भौतिक सम्पदा आदिलाई नै धन–लक्ष्मी भनिन्छ । धन–लक्ष्मीको कृपाले व्यक्तिबाट प्राप्त अथवा सही तरिकाले कमाएको धनले मात्र हामीलाई खुसियाली प्रदान गर्दछ । यसले मनमा शान्ति प्राप्त हुन्छ । वास्तुमा धन–लक्ष्मीको दिशा आग्नेय कोणमा पर्दछ । यस दिशालाई प्रसिद्घि, धन, भौतिक सुख आदिका रुपमा पनि लिइन्छ । घरको यो दिशा वास्तु अनुकूल रहेमा उल्लिखित गुणहरु प्राप्त हुन्छ । अन्यथा घरका आयस्रोतहरु ठप्प हुने, धनागमनमा समस्या, दुर्घटना हुनसक्ने, खर्च बढ्ने आदि हुनसक्छ ।
३.धान्य–लक्ष्मी :
धान्य–लक्ष्मी कृषि धनको वाहक, प्रशस्त उत्पादन र खाद्य सुरक्षा सुनिश्चित गर्ने देवी हुन् । धान्य–लक्ष्मीलाई माता अन्नपूर्णा वा भोजनकी देवी पनि भनिन्छ । धान्य–लक्ष्मीको सम्बन्ध भोजनसँग छ । उचित भोजनले हाम्रो शरीरलाई पौष्टिकताका साथै सकारात्मक ऊर्जा उपलब्ध गराउँछ । भोजन ग्रहण गरेर मात्र हुँदैन उपयुक्त भोजन राम्रोसँग पचाउन पनि सक्नुपर्छ । जुन व्यक्तिमा धान्य–लक्ष्मीको कृपा रहँदैन, त्यो व्यक्ति सधैँ बिरामी रहन्छ । खाना राम्रोसँग पचाउन नसक्नेले मन लागेको वस्तुको सेवन गर्न सक्दैन । यस्ता व्यक्तिका लागि संसारको सम्पूर्ण धन पनि व्यर्थ रहन्छ । घरमा अन्नको सदुरुपयोग गर्नाले धान्यलक्ष्मीको कृपा रहन्छ । वास्तुमा धान्य–लक्ष्मीको दिशा पूर्व र उत्तर–पश्चिमलाई मानिन्छ । यस दिशालाई स्वास्थ्य, नाम प्रसिद्घि, अन्न अनाजको प्रतीकका रुपमा पनि लिइन्छ ।
४.गज–लक्ष्मी÷भाग्य–लक्ष्मी÷राज–लक्ष्मी :
गज–लक्ष्मी÷भाग्य–लक्ष्मी÷राज–लक्ष्मीलाई धन, शक्ति, कृषि तथा उर्बरताकी देवी, सन्तान प्राप्ति, सन्तान सुख, समृद्घि, वाहन प्राप्ति, शाही वैभव र सार्वभौमिकताको प्रतीकको रुपमा लिइन्छ । यी देवी अन्जन नामक हात्ती चढ्छिन् । गज–लक्ष्मी व्यक्तिको जीवनमा गाडी—घोडाहरुको कारक हो । भाग्य–लक्ष्मीले जीवनमा भाग्य ल्याउँछ भने राज–लक्ष्मीले उन्नति–प्रगति । साथै भाग्य–लक्ष्मीको कृपाले व्यक्ति उच्च ओहदामा पुग्ने गर्दछन् ।
५.सन्तान–लक्ष्मी :
सन्तान र पारिवारिक समृद्घिको दाता, ज्ञान कला कौशलता, शिक्षामा सफलता, सन्तानसहित परिवारलाई आशीर्वाद दिने र उनीहरुको कल्याण गर्ने देवी सन्तान–लक्ष्मी हुन् । सन्तान लक्ष्मीलाई स्कन्द माता पनि भनिन्छ । सन्तान–लक्ष्मीको कृपाले बच्चा स्वस्थ, आज्ञाकारी र माता–पिताप्रति सद्भाव राख्नाका साथै माता–पिताको सेवा गर्ने हुन्छन् । यस्ता सन्तानले समाजमा आफ्नो तथा परिवारको नाम कमाउँछन् ।
६.वीर–लक्ष्मी÷धैर्य–लक्ष्मी :
वीर–लक्ष्मी व्यक्तिको जीवनमा शान्ति, वीरता, विजय र साहसको प्रतीक हो । धैर्य–लक्ष्मीबाट व्यक्तिको जीवनमा सौभाग्य, समृद्घि, आत्मविश्वास र धैर्यता प्राप्त हुन्छ । माता वीर–लक्ष्मी प्रसन्न रहेमा भक्तलाई अकाल मृत्युबाट बचाउने तथा भक्तलाई रक्षा गर्दछिन् । वीर–लक्ष्मीलाई माता कात्याइनीका रुपमा पनि चिनिन्छ, जसले महिषासुरको वध गरेकी थिइन् । वास्तुअनुसार बीर–लक्ष्मीको दिशा दक्षिण र धैर्य लक्ष्मीको दिशा पश्चिम हो । परिवार बनाउने या तोड्ने कार्यका लागि यो महत्वपूर्ण क्षेत्र हो । जब परिवारका सदस्यहरूले धैर्यता राख्न असक्षम हुन्छन्, तब घरमा शान्ति र सहिष्णुताको स्तर कमजोर हुन्छ । यसले अन्ततः ठूलो पारिवारिक समस्याको रूप लिन्छ । यस दिशालाई घरको मुख्य मान्छे, नैतिकता, शान्ति, प्रसिद्घी, आनन्दआदिको रुपमा पनि लिइन्छ । यदि घरमा यी चिजहरुको कमी छ भने तपाइको बीर–लक्ष्मीको कृपा नरहेको स्पष्ट हुन्छ ।
७.विद्या–लक्ष्मी :
विद्या–लक्ष्मी ज्ञानकी लक्ष्मी हुन् । विद्या–लक्ष्मीले सिक्ने, सिकाउने क्षमतालाई मद्दत गर्छिन्, जसले आफ्नो कर्मको मार्गमा पुग्न मद्दत मिल्छ । उनको कृपाले हामी सबै आफ्नो क्षेत्रमा अधिक ज्ञान प्राप्त गर्छाैं र कठिन विषयहरू पनि बुझ्न सक्षम हुन्छौँ । विद्या–लक्ष्मी हाँसमा विराजमान रहन्छिन् भने धन–लक्ष्मी कमलको फूलमा । त्यसैले विद्या–लक्ष्मीलाई धेरै स्थिर मानिन्छ, जब कि धन–लक्ष्मीलाई चञ्चल । जीवनमा ज्ञानलाई भौतिक सम्पदाभन्दा धेरै महत्व दिइन्छ ।
८.विजय लक्ष्मी :
जीवनमा आउने समस्याबाट लड्ने शक्ति विजय–लक्ष्मीबाट प्राप्त हुन्छ । यिनको कृपाले जय–विजय, यश, कृति तथा सम्मान प्राप्त गराउने काम गर्छिन् । जीवनमा हामीले सङ्घर्ष गर्नुपर्दछ, जसवाट जित्ने प्रेरणा विजय–लक्ष्मीले दिन्छिन् । हाम्रो जीवनमा आउने समस्याहरुसँग लड्ने र जित्ने साहस दिने काम विजय–लक्ष्मीको हो । वास्तुअनुसार विजय–लक्ष्मीको दिशा उत्तर–पश्चिम (वायव्य) कोण हो ।
अष्ट–लक्ष्मीहरूले जीवनलाई सहज र स्थिर राख्न एकअर्कासँग मिलेर काम गर्छन् । पूर्वकी धान्य वा ऐश्वर्या लक्ष्मीले गज लक्ष्मीसँग मिलेर व्यक्तिहरूलाई सुख सुविधा र विलासिताका साथ उच्चपदको उपभोग गर्ने क्षमता प्रदान गर्छिन् । दक्षिण–पूर्वकी धन–लक्ष्मीले उत्तर–पश्चिमकी विजया–लक्ष्मीसँग मिलेर आग्नेयमा उत्पन्न हुने नगद आवश्यक परेको बेला सहयोगको रूपमा उपलब्ध छ भनी सुनिश्चित गराउँछन् ।
वास्तुअनुसार लक्ष्मी वा सम्पत्ति भनेको स्पष्टता हो, जुन हामीले उत्तर–पूर्वबाट प्राप्त गर्छौं, दोस्रो लक्ष्मी, स्वास्थ्य तथा कनेक्टिभिटी हो जुन हामीले पूर्वबाट प्राप्त गर्छौं ं। तेस्रो लक्ष्मी भनेको पैसा हो जुन हामीले दक्षिण–पूर्व, नगद वा अग्निको वास्तु क्षेत्रबाट प्राप्त गर्छौं । चौथो लक्ष्मी भनेको प्रसिद्धि हो जुन हामीले दक्षिणबाट पाउँछौँ । त्यसपछि दक्षिण–पश्चिम क्षेत्र आउँछ जसले हामीलाई सीप र विशेषज्ञता दिन्छ । उत्तर–पश्चिमले बल र समर्थन दिन्छ । उत्तरले अवसर दिन्छ । यसरी आठ दिशाबाट यी आठ प्रकारको धन वा लक्ष्मीको आशीर्वाद लिन सकियो भने मात्र जीवन साँच्चै अनमोल बन्न सक्दछ ।
अन्त्यमा, आज लक्ष्मी पूजा अर्थात् धनधान्यकी देवीको पूजा गर्ने दिन । हामी सबैले आफ्नो घर या कर्म क्षेत्रमा माता लक्ष्मीको पूजा–अर्चना गर्छौैं । माता लक्ष्मीको पूजा गर्दा लक्ष्मीका आठवटै रुपको विधिवत् पूजा–अर्चना गर्न अनिवार्य छ । समग्र सुखको प्राप्तिका लागि धनलक्ष्मीको मात्र साधना नगरी आठै रुपको विधिवत् अर्चना या आराधना गर्दा उत्तम लाभ मिल्छ । जीवनका समग्र पक्षमा अधिकतम् उपलब्धिका लागि लक्ष्मीका आठैरुपको साधना गरौँ । (लेखक वास्तु विज्ञानका सञ्चालक एवं दक्षिण एसियाली ज्योतिष महासङ्घका आजीवन सदस्य हुनुहुन्छ)