गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् : गृहमन्त्री

  ५ घण्टा अगाडि

काठमाडौँ, ११ कात्तिक : गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभएको छ । गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नेपालका अवैतनिक राजदूत भएको बताउनुभयो ।

“नेपालका लागि केही गर्ने उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भए पनि नेपाली हुँ भनिराख्नुभएको छ”, उहाँले भन्नुभयो, “अवैतनिक राजदूतका रुपमा विश्वमाझ नेपाललाई चिनाउँदै नेपालको राष्ट्रियता थप बलियो बनाउनुका साथै आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ, तपाईंहरु सबै धन्यवादको पात्र हुनुहुन्छ ।”

उहाँले गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्बोधन गर्नेगरी कानुन संशोधनको तयारीमा सरकार रहेको जानकारी दिनुभयो । कानुन संशोधनका लागि गृहकार्य भइरहेकाले सुझावको अपेक्षा गरका छौँ भन्दै गृहमन्त्री लेखकले लोकतन्त्र र विधिको शासनसहित समुन्नत नेपालका पक्षमा उभिन गैरआवासीय नेपाली समुदायसँग अनुरोध गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एआरएनए)का अध्यक्ष डा बद्री केसीले लगानीमैत्री वातावरण भए गैरआवासीय नेपाली नेपालमा लगानी गर्न उत्सुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मातृभूमि नेपालमा रु एक खर्ब लगानी गरिसकेका गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराएर लगानीका वातावरण सहज गरिदिन अनुरोध गर्दछौँ ।”

गैरआवासीय नेपाली सङ्घमा पछिल्लो समयमा विवाद सिर्जना भई विभिन्न समूहहरू सक्रिय रहेको भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, “आफूहरू सदैव एकताको पक्षमा रहेकाले अझ गतिशील र प्रभावकारी एनआरएनका पक्षमा साथ दिन एनआरएन दिवसका उपलक्ष्यमा सबैसँग अनुरोध गर्दछु । आपसी सहयोग, सहकार्य र समन्वयसहित एकताबद्ध एआरएन र समुन्नत नेपालका पक्षमा एकजुट हौँ ।”

पूर्वअध्यक्ष डा उपेन्द्र महतोले एनआरएनएमा देखिएका विवाद समाधान गरी एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिँदै संस्थापक अध्यक्षका हैसियतले अझ सुदृढ र एकताबद्ध एनआरएनका पक्षमा सक्दो सहयोग र सहजीकरण गर्न आफू तयार बताउनुभयो ।

एनआरएनको यसअघि काठमाडौँमा भएको निर्वाचन प्रक्रिया र परिणामप्रति असहमति जनाउँदै अध्यक्षका प्रत्यासी आरके शर्मा पक्षले छुट्टै ढङ्गबाट कार्यक्रम गर्दै आएको छ । निर्वाचन परिणामलगायत सङ्घकातर्फबाट भइरहेका आधिकारिक कामकाजका सम्मानित सर्वाेच्च अदालतमा परेको उजुरीउपर फैसला भई पूर्वअध्यक्ष शेष घलेलाई एकताको महाधिवेशन गर्नेगरी परमादेश जारी भएको अवस्थामा डा केसी पक्षले आज गैरआवासीय दिवसका उपलक्ष्यमा कार्यक्रम आयोजना गरको हो ।

तपाईको प्रतिक्रिया