पन्ज्युनयाँ क्रिकेट लिगको सेमिफाइनल समीकरण पूरा

  ५ घण्टा अगाडि

बैतडी, १० कात्तिक : बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । आज सम्पन्न क्वाटरफाइनल खेलबाट बस्कोट सुपर किङ्स बी सेमिफाइनल पुगेको छ ।

बस्कोटले शुसितम युवा क्लब बी टिमलाई २ विकेटले हरायो । शुसितमले दिएको ११३ रनको लक्ष्य बस्कोटले १४ दशमलव २ ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । यसअघि पहिला ब्याटिङ गरेको शुसितमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन बनायो ।

आजै बिहान हुने भनिएको अर्काे क्वाटरफाइनल खेलमा चम्तडी स्टार उपस्थित नभएपछि वाक ओभर पाएर आयोजक शुसितम युवा क्लब ए टिम अन्तिम चारमा सुरक्षित भयो ।

हिजो सम्पन्न दुई क्वाटरफाइनलबाट बस्कोट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् । यसैबीच सेमिफाइनल खेलहरू आइतबार हुनेछन् । पहिलो सेमिफाइनलमा बस्कोट सुपर किङ्स ए र हुनैनाथ मालिकार्जुन क्रिकेट क्लब भिड्दा दोस्रोमा आयोजक शुसितम युवा क्लब ए र बस्कोट सुपर किङ्स बी आमनेसामने हुनेछन् ।

असोज २९ गतेदेखि सुरू भएको प्रतियोगिताको फाइनल खेल कात्तिक १२ गते हुने आयोजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयो । उपाधि विजेता टोलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टोलीले नगद ५५ हजार ५५५ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वाेत्कृष्ट ब्याटर र बलरले समान सात हजार सात सय ७७, उदयीमान खेलाडीलाई तीन हजार तीन सय ३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले एक हजार एक सय ११ पुरस्कार पाउने जनाएको छ ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसअघि सम्पन्न पहिलो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको उपाधि दोगडास्टार क्लब र दोस्रो आयोजक शुशितम युवा क्लबले जितेको थियो ।

तपाईको प्रतिक्रिया