भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्नेः मुख्यमन्त्री आचार्य

  ५ घण्टा अगाडि

लुम्बिनी, १० कात्तिक : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्व तहबाट पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभएको छ ।

भ्रष्ट्राचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का बारेमा आज भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले सुशासनको क्षेत्रमा नेतृत्व तहमा रहेका सबैले पारदर्शी व्यवहार देखाउनुपर्ने बताउनुभयो । उहाँले वडा तहमा हुने भ्रष्ट्राचारका उजुरीलाई समेत हेर्नेगरी प्रमुख जिल्ला अधिकारीलाई अधिकार सम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सुशासनको क्षेत्रमा हामी पारदर्शी बनौँ, हामी सबै पारदर्शी बन्यौँ भने भ्रष्ट्राचार आफैँ न्यूनीकरण भएर जान्छ ।”

लुम्बिनी प्रदेशमा सुशासन कायम गर्न प्रदेश सरकारले रणनीतिक योजना बनाउने कामलाई अन्तिम चरणमा पु¥याएको उहाँले जानकारी दिनुभयो । भ्रष्ट्राचारलाई शून्यमा झार्नेगरी सुशासन कायम गर्न प्रदेश सरकारले पाँचवर्षे रणनीतिक योजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताउनुभयो ।

“सुशासन कायम नभइराख्दा भ्रष्टाचार बढेर जान्छ, तपाईं जति सुशासन कायम गर्न सक्नुहुन्छ त्यो प्यारामिटर डाउन भएर घट्दै जाने हो”, उहाँले भन्नुभयो, “भ्रष्टाचार अन्त्यको कुरा गरेर मात्रै होइन, त्यसमा महत्वपूर्ण ध्यान दिन जरुरी छ, प्रत्यक्ष र अप्रत्यक्ष खालका हुने खर्चलाई कटौती गरेर अगाडि बढीरहेका छौँ ।”

उहाँले भ्रष्टाचार शुन्यमा झार्न राजनैतिक नेतृत्व, कर्मचारी तहलगायत जिम्मेवारीमा रहेकाहरूमा नैतिकता र इमानदारी व्यवहारको आवश्यकता रहेको धारणा राख्नुभयो । मुख्यमन्त्री आचार्यले जिम्मेवारीमा रहेका सबैमा नैतिक आचारचरण हुने हो भने भ्रष्टाचार शून्यमा झार्न सकिने बताउनुभयो ।

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माणबारे आयोजना गरिएको छलफलमा भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धी कार्यान्वयन गर्ने सन्दर्भमा सो राष्ट्रिय रणनीनि तथा कार्ययोजना निर्माण गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया