बिपी बर्न अस्पताल पुनः सञ्चालन हुँदै

  १४ घण्टा अगाडि

इनरुवा (सुनसरी), ९ कात्तिक : सुनसरी धरान उपमहानगरपालिकास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिनुभयो ।

जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको उहाँले जानकारी दिनुभयो । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीलाई सहज होस् तथा उपचार अभावका कारणले अकालमा ज्यान गुमाउन नपरोस् उद्देश्यले अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

जलेका बिरामीको उपचारका लागि छुट्टै भवन निर्माण गरेर ३० शय्याको बर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको उहाँले बताउनुभयो । बर्न सेन्टरका लागि आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको र भौतिक पूर्वाधारको कामसमेत अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । सबै तयारी अन्तिम चरणमा पुगेकाले अबको एक महिनाभित्रमा सेन्टर सञ्चालनमा आउने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारले बताउनुभयो ।

तत्काल ३० वटा शय्या भएको बर्न अस्पताल सञ्चालन गर्ने तयारी भएको र अहिले २० वटा जेनरल शय्या तयारी भइसकेको र बाकी १० वटा शय्यामा आइसियु र गम्भीर किसिमका बर्नका बिरामीको उपचारका लागि व्यवस्थापन गर्ने तयारी भएको बिपीका प्रवक्ता अभिजितले जानकारी दिनुभयो ।

अस्पतालमा लिफ्टको काम गर्न बाँकी रहेकाले काम समापन भएसँगै बर्न अपस्पताल सञ्चालन गर्ने उहाँले बताउनुभयो । अस्पतालमा लिफ्टका लागि ‘टेन्डर’ आह्वान गरिसकेको छ । बर्नका बिरामी ‘सिजनल’ आउने गरेकाले बिपीमा ३० वटा शय्याले पुग्ने उहाँले बताउनुभयो ।

धरानमा बर्न सेन्टर सञ्चालनमा आएपछि जलेका बिरामीलाई उपचारका लागि सङ्घीय राजधानी धाउनुपर्ने बाध्यता अन्त हुने उहाँको भनाइ छ । यहाँ सुनसरीसहित कोशी प्रदेश र मधेश प्रदेशका जनकपुरसम्मका बिरामीले सेवा लिने प्रतिष्ठानका सहप्रवक्ता डा अभिजित कुमारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया