गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४५ लाखको कारोबार

  कार्तिक ०९, २०८१

काठमाडौँ, ९ कात्तिक : १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा करिब रु ४५ लाख बराबरको आर्थिक कारोबार भएको छ ।

फ्लोरिकल्चर एसोसिएशन (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ बिहीबारबाट सुरु भएको मेलामा दुई दिनमा उक्त रकम बराबरको आर्थिक कारोबार भएको हो ।

आगामी आइतबारसम्म सञ्चालन हुने मेलामा रु एक करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा रहेको एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा बिहीबार र शुक्रबार गरी १६ हजार जनाले मेलाको अवलोनकन गरिसक्नुभएको छ । अवलोकनमा आउनेको आकर्षण गोदावरी फूल रहेको र सो फूल ६० प्रतिशत बिक्री भएको अध्यक्ष बादेले जानकारी दिनुभयो ।

यस प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल दुई, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्षहरू रहेका छन् । प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको फ्यानले जनाएको छ ।

यसक्रममा सहभागी नर्सरी÷फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाईडर, रिफ्लेक्स, ईन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छ । साथै मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी÷फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जानएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०५१ सालदेखि पुष्प मेला र प्रदर्शनी आयोजना गर्दै आएको छ । फूलको माग वृद्धिसँगै काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भएको छ ।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया