सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः उपमहासचिव ज्ञवाली

  ५ घण्टा अगाडि

झापा, ८ कात्तिकः नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्वपूर्ण काम एक सय दिनमै जनपेक्षाअनुसार पूरा गरेको बताउनुभयो ।

नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले एक सय दिनमै सकारात्मक काम गरेर जनताको मन जितेको दाबी गर्नुभयो ।

वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उहाँले व्यवस्थाकैविरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेस मिलेर सरकार बनाएको धारणा राख्नुभयो । उहाँले यो सरकारले अस्थिरताको अन्त्य गर्नेसमेत कार्यकर्तालाई आश्वासन दिनुभयो ।

नेता ज्ञवालीले सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ, कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुँदैन ।”

उहाँले कार्यकर्तालाई पार्टी र सरकारबारेमा धारणा बनाउँदा बुझेर मात्र बनाउन सुझाव समेत दिनुभएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले नेता ज्ञवालीलाई जिल्लाको समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया