साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

  ६ घण्टा अगाडि

काठमाडौँ, ८ कात्तिक : नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग खेल्ने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्काविरुद्ध चार गोलको अग्रता लिएको थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गरिन् । सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यस्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २–० को अग्रता दिलाइन् ।

यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पु¥याइन् । यस्तै रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्नसक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे । अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे ।

आइतबार नै समूह ‘ए’ को विजेता बङ्गलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

तपाईको प्रतिक्रिया