बैतडीमा पन्ज्युनयाँ क्रिकेट लिग सुरु

  २३ घण्टा अगाडि

बैतडी, २९ असोज : तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग आजदेखि यहाँ प्रारम्भ भएको छ । सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो ।

उन्नाइस टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले खेलकुदका साथै सामाजिक विकासका अन्य क्षेत्रमा तीनवटै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
खेलकुदको माध्यमबाट पनि देशको गरिमा बढाउन मद्दत पुग्ने भएकाले ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा बल मिल्ने मन्त्री भण्डारीले बताउनुभयो ।

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तह सबल हुनुपर्छ भन्नुभयो । ‘एक वडा एक खेल मैदान’ निर्माणको अवधारणा पालिकाले अघि सारेको बताउँदै अध्यक्ष कार्कीले बजेट अभावमा त्यसले पूर्णता पाउन नसकेको दुखेसो गर्नुभयो । 

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु एक लाख ५५ हजार ५५५ सहित शिल्ड र पदक पाउनेछभने उपविजेता टोलीले नगद रु ५५ हजार ५५५ पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । 

यसैगरी, सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वनास्वरूप रु १० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ११ हजार १११, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई रु सात हजार ७७७, उदीयमान खेलाडीलाई रु तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई रु एक हजार १११ प्रदान गरिने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया