बङ्गलादेशका क्रिकेट खेलाडी साकिब अल हसनले विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा माफी माग्नुभएको छ ।
अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौं व्यक्तिहरूमध्ये ३७ वर्षीय शाकिबले पनि बङ्गलादेशमा भएको विद्रोहको क्रममा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको लागि अनुसन्धानको सामना गरिरहनुभएको छ ।
बङ्गलादेशको क्रिकेटका पूर्व कप्तान साकिब सन् २०२४ को सुरुमा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित हुनुभएको थियो । अगस्टमा हसिनाको राजीनामापछि संसद विघटन नभएसम्म र अशान्तिको चरम समयमा छिमेकी भारतमा निर्वासित नभएसम्म उहाँले बङ्गलादेशको सांसदको रूपमा सेवा गर्नुभएको थियो ।
हसनले बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक लामो नोट लेख्दै प्रदर्शनका क्रममा नबोलेकोमा माफी माग्नुभएको छ ।
नोटमा भनिएको छ, “आफ्नो जीवन उत्सर्ग गर्ने सबै विद्यार्थीहरूप्रति म श्रद्धाञ्जलि अर्पण गर्दछु ।”
मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्दै उहाँले भन्नुभएको छ, “कुनै पनि कुराले कसैलाई गुमाउनुको रिक्ततालाई भर्न सक्दैन, तर मेरो मौनताबाट आहत भएका सबैसँग म क्षमा याचना गर्दछु। यदि म तपाईंको ठाउँमा भएको भए म पनि दुःखी हुने थिएँ।”
बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार हसिनालाई सत्ताच्युत गर्नुअघि भएको अशान्तिमा परी ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
आन्दोलनका समय शाकिब क्यानडामा घरेलु ट्वन्टी–२० क्रिकेट प्रतियोगिता खेलिरहनुभएको थियो र त्यसपछि उहाँ बङ्गलादेश फर्किनुभएको छैन ।
हसिनाको बहिर्गमनपछि देशमा गठित अन्तरिम सरकारको स्वीकृतिमा उहाँले बङ्गलादेशी टोलीसहित पाकिस्तान र भारतको भ्रमण गर्नुभएको छ ।
हसीनाका विरोधीहरूले बहिष्कार गरेको जनवरीमा सम्पन्न निर्वाचनमा शाकिब संसद् निर्वाचित हुनुभएको थियो।
उहाँले आफ्नो गृहनगरको विकासमा योगदान गर्न चाहेकाले आफूले चुनाव लड्ने निर्णय गरेको बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, “यदि आफ्नो तोकिएको स्थान छैन भने बङ्गलादेशमा विकासमा प्रत्यक्ष भूमिका निर्वाह गर्न कठिन छ ।”
शाकिबले गत महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो तर यसै महिनाको अन्त्यमा दक्षिण अफ्रिकासँग घरेलु मैदानमा आफ्नो अन्तिम टेस्ट श्रृङ्खला खेल्न चाहेको बताउनुभएको छ ।
उहाँले आफ्नो फेसबुक पोस्टमा भन्नुभएको छ, “आफ्ना सबै प्रशंसकहरूसँग ‘बिदाइ’ हुने अवसर मेरो इच्छा हो ।”
उहाँले भन्नुभयो, “तपाईहरू सबैलाई थाहा छ, म चाँडै नै आफ्नो अन्तिम खेल खेल्नेछु । म आशा गर्दछु कि मेरो बिदाइको घडीमा तपाईंहरू सबै मेरो साथमा हुनुहुनेछ।”