तेहरान, २२ असोज : इरानले मङ्गलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशङ्काबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ ।
“इरानमा कुनै पनि पूर्वाधारमाथि आक्रमण भए यसले अझ बलियो प्रतिक्रिया निम्त्याउनेछ”, सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै भनेको छ ।
इजरायलले आफ्नो प्रमुख शत्रुमाथि अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको बताएपछि अराघचीले त्यस्तो चेतावनी दिनुभएको हो । इरानले पछिल्लो छ महिनामा इजरायलमाथि गरेको यो दोस्रो आक्रमण थियो ।
सोमबार एउटा आधिकारिक बयानमा अराघचीलाई उद्धृत गर्दै इरानले क्षेत्रमा युद्ध नचाहेको बताएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानका तेल प्रतिष्ठानहरूमा आक्रमण नगर्न सावधान गराउनुभएको थियो । इरान विश्वका शीर्ष १० कच्चा तेल उत्पादकमध्ये एक हो ।
इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्सका जनरल रसुल सनाइरदले आइतबार इजरायललाई आणविक वा ऊर्जा केन्द्रहरूमाथि हुने कुनै पनि आक्रमणले ‘चेतावनी स्तर’ पार गर्ने चेतावनी दिनुभएको थियो ।
फार्स समाचार एजेन्सीले इजरायलको धम्कीपछि सनाइरदलाई उद्धृत गर्दै भनेको छ, “केही राजनीतिक नेताहरूले इरानको आणविक नीतिमा सम्भावित परिवर्तनको कुरा गरेका छन् ।”
सन् २०२२ मा एक अधिकारीले इरानसँग आणविक हतियार उत्पादन गर्ने प्राविधिक क्षमता रहेको बताएपछि इरानले आफ्नो आणविक महत्त्वाकांक्षामा कुनै परिवर्तन नभएको कुरामा जोड दिएको थियो ।
गत वर्ष इरानले युरेनियम संवर्धनको गति कम गरे पनि त्यसपछि सन् २०२३ को अन्त्यतिर अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका अनुसार ६० प्रतिशत संवर्धित युरेनियमको उत्पादनलाई तीव्र बनाएको थियो ।
सैन्य प्रयोगका लागि करिब ९० प्रतिशत संवर्धन स्तर आवश्यक पर्दछ ।
इरानले आणवक हतियार क्षमता विकास गर्ने कुनै महत्त्कांक्षा राखेको कुरालाई सधैँ अस्वीकार गर्दै आएको छ र आफ्ना गतिविधिहरू पूर्ण रूपमा शान्तिपूर्ण रहेको कुरामा जोड दिँदै आएको छ ।
इरानी आणविक केन्द्रहरूमा हुने कुनै पनि आक्रमणले ‘इरानको प्रतिक्रियाको प्रकारमा प्रभाव पार्ने’ जनरल सनाइरदले बताउनुभयो ।
तेहरानले इजरायलमाथि गरेको आक्रमणमा करिब दुई सय क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । बेरुतमा भएको हवाई आक्रमणमा इरान समर्थित लेबनानी आन्दोलन हिजबुल्लाहका नेता हसन नसरल्लाह र तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानियाको मृत्युको जवाफमा उक्त आक्रमण गरेको इरानले बताएको थियो । (रासस/एएफपी)