मनिष हेल्लोकको ‘जनयुद्ध’ नाटकको विमर्श

  असोज २०, २०८१

फुङ्लिङ (ताप्लेजुङ), २० असोज : ताप्लेजुङका युवा साहित्यकार मनिष हेल्लोकद्वारा लिखित ‘जनयुद्ध’ नाटकको विमर्श (चर्चा) गरिएको छ ।

सदरमुकाम फुङ्लिङमा आज कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नाटकमार्फत दिन खोजेको सन्देशबारे स्वयम् लेखक हेल्लोकले प्रस्ट्याउनुभएको थियो । 

समीक्षक ताप्लेजुङका पूर्वसहायक प्रमुख जिल्ला अधिकारी एवम् साहित्यकार टङ्कबहादुर भट्टराईले नाटक विधा पुस्तकसँगै मञ्चन गरेमा नाटकले दिन खोजेको विषय वा सन्देश थप प्रष्ट हुने बताउनुभयो । 

नाटक वा कुनै पनि विधामा कलम चलाउनु र पुस्तक प्रकाशन गर्नु सजिलो नभएको बताउँदै स्तरीय कृति लेखनतर्फ लेखकले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विमर्श कार्यक्रममा साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराई (अकिञ्चन) र नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष आनन्द गौतमले पनि पुस्तकमाथि चर्चा गर्नुभएको थियो । 

साहित्यकार हेल्लोकले जनयुद्धबाहेक तराई पहाड लिम्बुवान र सङ्घीय सहअस्तित्व नामक नाटक विधाका पुस्तक लेखन तथा प्रकाशन गर्नुभएको छ ।

यस्तै सुन्दर समाजका सपनाहरु, चेलीका सुस्केराहरु, सुम्निमाको कारुणिक कथा नामक लघु उपन्यास खेल्नुभएको छ । हेल्लोकका अन्य कथा, खण्डकाव्य, कविता लगायतका विधा गरी एक दर्जनको सङ्ख्यामा पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

तपाईको प्रतिक्रिया