दलित समुदायलाई पुख्र्यौली पेसा जोगाउन गाह्रो

  असोज २०, २०८१

कञ्चनपुर, २० असोज : जिल्लाका दलित समुदायलाई पुर्खौदेखि अपनाउँदै आएको पेसा व्यवसायले जीविकोपार्जन गर्न गाह्रो हुन थालेको छ । परम्परागत पेसालाई बीचमा छाडेर दलित युवा अन्य काम गर्न बाध्य छन् । युवाहरू जीविका चलाउन भारतमा दरवान, कुल्ली र अन्य जोखिमयुक्त काम गर्दै आएका छन् ।

दलित समुदायले बाजा बजाउने, सिलाइकटाइ, जुत्ता बनाउने, माटोका भाँडाकुँडा बनाउने, बेतबाँस, सुनचाँदी, मादल बनाउने, कृषि औजार निर्माण गर्ने, घरायसी रूपमा प्रयोग हुने धातुका भाँडाकुँडा बनाउने काम ओझेलमा पर्न थालेको हो ।

पुस्तौँदेखिको परम्परागत सीपलाई आधुनिकीकरण गर्न नसक्दा दलित युवाहरू पलायन हुन थालेका दलित अधिकारकर्मी शिवी लुहारले बताउनुभयो । “दलित समुदायले अपनाउँदै आएको पेसा व्यवसाय गैरदलित समुदायले आधुनिक तरिकाले गर्न थालेपछि प्रतिस्पर्धा गर्न नसक्दा पलायन हुनुपरेको छ”, उहाँले भन्नुभयो, “दलित समुदायको अर्थावस्था कमजोर हुँदा आवश्यक पुँजी अभावमा परम्परागत पेसालाई आधुनिकीकरण गर्न राज्य पक्षबाट सहयोग आवश्यक पर्छ ।”

सारेकार भएका निकायले समयसापेक्ष अधुनिकीकरण गर्न आर्थिक तथा प्रविधिक सहयोग गर्नुपर्नेमा जोड दिँदै लुहारले संरक्षणको अभावमा परम्परागत पेसा सङ्कटमा परेको बताउनुभयो । दलित समुदायको परम्परागत पेसा हाम्रो धर्म, संस्कृति, कलासँग जोडिएको उल्लेख गर्दै उहाँले यसलाई आयआर्जनसँग जोडनुपर्ने उल्लेख गर्नुभयो ।

दलित युवाहरूलाई परम्परागत पेसामा संलग्न गराउन बजारको मागअनुसारको सीप सिकाउनुपर्ने दलित अगुवा लक्ष्मण लुहारले बताउनुभयो । व्यवसाय सञ्चालनका लागि अनुदानको व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाबाट बिनाधितो सहुुलियत ब्याजमा ऋण उपलव्ध गराउने व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ ।

“धार्मिक जात्रासँगै विवाहलगायतका शुभकार्यमा दलित समुदायले पञ्चेबाजा बजाउने कार्य पुस्तौँदेखि गर्दै आएका छौँ”, गणेश विकले भन्नुभयो, “यस पेसाबाट जीविका चलाउन सकिने अवस्था नभएपछि युवाहरूले पञ्चेबाजा बजाउन छाडदै गएका छन्, त्यो कार्य गैरदलित समुदायले गर्न थालेपछि पुर्खौैँदेखिको पेसा खोसिएको हो ।”

धातु र माटोका भाँडा बनाउने काम पुस्तौँदेखि दलित समुदायले गर्दै आए पनि हाल बजारमा बाह्य क्षेत्रबाट उद्योगमा निर्माण हुने भाँडाकुँडा सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न नसक्दा पेसा पलायन हुनुपर्ने बाध्यता भएको गणेशले बताउनुभयो ।

परम्परागत पेसा व्यवसाय अपनाएकै कारण जातीय रूपमा विभेद हुने गरेको उहाँको भनाइ छ । कानुनी रूपमा जातीय विभेदलाई दण्डनीय बनाइए पनि समाजमा बर्चस्व भएका व्यक्तिका पक्षमा न्याय गरिँदा पीडितले थप पीडा खेप्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

“सङ्कुचित सोचका कारण प्राविधिक शिक्षालयमा पढ्न टाढाबाट आउने दलित विद्यार्थीले डेरा पाउदैनन्”, अन्तराम ओडले भन्नुभयो, “दलित समुदायका व्यक्तिले पशुपालन गरी उत्पादन गरेको दूध सरकारबाट अनुदान पाउने डेरीले खरिद गर्दैनन्, यस्तो अवस्थामा पुरानो पेसालाई जोगाउन निकै कठिन छ ।”

“दलित समुदायको पेसा व्यवसाय जोगाउन परम्परागत सीपमा परिमार्जन गरी उपभोक्ताको मागअनुसारका वस्तु उत्पादनमा जोड दिन तालिमको व्यवस्था गरिनुपर्छ”, बेलु नेपालीले भन्नुभयो, “तीन तहको सरकारले अनुदान, सहुलियत ऋणको व्यवस्था गरी घरेलु, साना, मझौला उद्योगका रूपमा विकास गरी दलित समुदायका युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसरको सृजना गरिनुपर्छ ।” परम्परागत पेसा व्यवसाय अपनाएका आधारमा जातीय रूपमा विभेद गर्नेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया