भैरहवा, असार २० : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाई हुँदा निर्माण अवधि पाँचौपटक थपिएको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार चौथोपटक विमानस्थल निर्माणको अवधि थपिएको हो । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाईको मुख्य कारण बनेको छ । अव भने थपिएको समयभित्रै निर्माण कार्य सम्पन्न हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिनुभयो ।
३१ मार्च २०२० मा निर्माण सक्ने लक्ष्य राखिएकोमा असहज परिस्थितिका कारण काममा ढिलाइ हुँदा नौ महिना म्याद थप भएको उहाँले बताउनुभयो । प्राधिकरणका अनुसार डिसेम्बरमा निर्माण सकिएमा त्यसपछि सञ्चालनपुर्वको तयारीका लागि करिव तीन महिना समय लाग्नेछ ।
अव बीचमा कुनै अवरोध नभए नौ महिनाभित्र विमानस्थलमा व्यावसायिक उडान हुने पोखरेलले बताउनुभयो । विमानस्थल बिस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणको करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ । अहिले विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवका आयोजना मध्ये गौतमबुद्ध विमानस्थल नै पहिलो आयोजनाको रुपमा निर्माण सम्पन्न हुने तयारीमा पुगेको छ ।
आयोजनाका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी कार्य जारी छ । बन्दाबन्दीकै बीचमा करिव पाँच करोड रुपियाँ मुआब्जा वितरणमा खर्च भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणमा अहिले २९ चिनियाँसहित २७५ चिनियाँ कामदार खटिएका छन् ।
बन्दाबन्दी भएपछि करिव एक महिना भने विमानस्थल निर्माणको काम पुरै रोकिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई साढे दुई महिनादेखि निरन्तरता दिएको छ ।
चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्व २२ करोड ५१ लाख २० हजार दुईसय २७ रुपियाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो । सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो ।
एसियाली विकास बैंकको क्रृण सहयोगमा निर्माण भैरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो हुने छ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भैरहेको छ ।