पर्वतका ग्रामीण सडक स्तरोन्नति गरिँदै

  ६ घण्टा अगाडि

पर्वत, ११ असोजः जिल्लाका ग्रामीण सडकको धमाधम स्तरोन्नति थालिएको छ । सडक सुधार र स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ८४ करोड विनियोजन गरेर काम सञ्चालन भएको हो ।

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा सडकसम्बन्धी एक सय २३ वटा योजनाका लागि रु ८३ करोड ७९ लाख ८० हजार विनियोजन गरेको हो ।

मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार अघिल्लो आर्थिक वर्षमा स्रोत सुनिश्चित भएका क्रमागत योजनासहित एक सय २३ वटा योजना सञ्चालन हुने बताउनुभयो । केही सङ्घीय सरकारअन्तर्गतका रहेका छन् भने प्रदेश सरकारका अधिकांश नयाँ योजना छन् ।

कुश्मा नगरपालिकामा ३३, फलेवासमा ३३, मोदी गाउँपालिकामा २०, जलजलामा १४, पैँयुमा ११, महाशिलामा सात र सबैभन्दा कम विहादी गाउँपालिकामा पाँचवटा योजना छन् । तीमध्ये ५० वटा योजनाको लगत अनुमान तयार भइसकेको र असोजभित्र ठेक्का प्रक्रिया अघि बढ्ने कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।

गत आवमा ठेक्का प्रक्रियामा गएका पैँयुको छत्तिसेघाट मोटरेबल पुल, कुश्मा–१० र फलेवास–३ जोड्ने मल्याङ्दी खोला पुल, जलजलाको मिलनचोक–सल्यान–घाहाखेत धारापानी–ठोटनेरी सडकका लागि पनि स्रोत सुनिश्चित भई नियमित काम हुने भएको छ । यसैगरी कुश्मा–२ को हिमालय मावि–पाङ– नुहार–खनियाघाट सडक, खुर्कोट–पाङ–नालिवाङ–धाइरिङ–मल्लाज बेनी सडक, मोदी गाउँपालिकाको रतिखोलाबाट दराक–चित्रे–गगटे–राम्जा सडकको पनि स्रोत सुनिश्चित भएको छ ।

फलेवास नगरपालिकाको खुमबाट भँगरा–बेतेनी–सल्यानधारा–घन्तरी–लुङ्खु सडकको स्तरोन्नति, पैँयु र महाशिलाको बेउलीबास–पूर्णगाउँ–पैँयुकोट–लुड्खु सडकका लागि रु तीन करोड १० लाखको लागतमा स्तरोन्नति सुरु भएको छ । उक्त योजनाको गत साता गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गर्नुभएको थियो ।

यसैगरी जलजलाको मिलनचोक–रातमाटा–भोटेडाँडा–शालिजा सडक स्तरोन्नति, जलजलाकै किराखोर–घाखेत–धारापानी–कलैचे सडक, फलेवास नगरपालिकाअन्तर्गतको  हिलेखोला–कार्कीनेटा–खलडाँडा–फलेवास–जैमुनीघाट सडकका लागि पनि रु आठ करोडको योजना क्रमागत रूपमा सञ्चालन भइरहेको कार्यालयले जनाएको छ । कुश्मा नगरपालिकाअन्तर्गत दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा र धरादी–काउँडाँडा–सौर्यकोट–हातेमालोचोक सडकका लागि पनि स्रोत सुनिश्चित भएको कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख अर्यालले चालु आवमा सालवसाली र बहुुवर्षे ठेक्का लगाउने योजनाको पहिचान गरी सर्वेक्षणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले प्राविधिक कर्मचारीको अभाव, बहुवर्षीय योजनामा पर्याप्त बजेटको कमीलगायत समस्या रहेको जानकारी दिनुभयो ।  आव २०८०/८१ मा जिल्लामा २३ किलोमिटर सडक कालोपत्र गरिएको छभने १७ किलोमिटर लामो पानी निकासको नाली, चार किलोमिटर सडक ग्राभेल र १३ किलोमिटर कच्ची सडक विस्तार गरिएको थियो । 

तपाईको प्रतिक्रिया