जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी

  ६ घण्टा अगाडि

जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ ।

विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ छ बजेसम्म जारी रहनेछ।

केन्द्र शासित प्रदेशका छ जिल्लाका २६ निर्वाचन क्षेत्रका २३९ उम्मेदवारको भाग्यको फैसला गर्न बुधबार जारी निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गर्नेछन् ।

यो चरणमा १३ लाख १२ हजार ७३० पुरुष, १२ लाख ६५ हजार ३१६ महिला र ५३ जना तेस्रो लिङ्गी गरी कुल २५ लाख ७८ हजार ९९ लाख मतदाताले मतदान गर्नेछन् । अन्तिम चरणको निर्वाचन अक्टोबर १ मा हुनेछ भने मतगणना अक्टोबर ८ मा हुनेछ ।

–११ बजेसम्म २४ दशमलव १० प्रतिशत मतदान–

बिहान ११ बजेसम्म २४ दशमलव १० प्रतिशत मत खसेको छ । भारतीय निर्वाचन आयोगका अनुसार रियासीमा सबैभन्दा बढी ३३।३९ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम श्रीनगरमा ११।६७ प्रतिशत मतदान भएको छ ।

मतदानको क्रममा विभिन्न देशका वरिष्ठ कूटनीतिज्ञहरूको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार बडगाम र श्रीनगरलगायत विभिन्न मतदान केन्द्रहरूमा जम्मु र काश्मीरमा मतदान प्रक्रियाको अवलोकन गर्न पुगेको थियो।

विदेश मन्त्रालयले अमेरिका, मेक्सिको, गुयाना, दक्षिण कोरिया, सोमालिया, पनामा, सिंगापुर, नाइजेरिया, स्पेन, दक्षिण अफ्रिका, नर्वे, तान्जानिया, रुवान्डा, अल्जेरिया र फिलिपिन्सलगायत करिब १५ देशका कूटनीतिज्ञको प्रतिनिधिमण्डललाई आमन्त्रण गरेको थियो ।

मतदान केन्द्रको भ्रमणका क्रममा वरिष्ठ कूटनीतिज्ञहरूले जनता र मतदातासँग अन्तरक्रिया गरेका थिए ।

तपाईको प्रतिक्रिया