दुई वर्षपछि ‘डब्लुटिएम’ मा सहभागी हुदैँ पर्यटन बोर्ड

  ५ घण्टा अगाडि

काठमाडौँ, ७ असोज ः नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा सहभागिता जनाउने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मञ्चका रूपमा लिइने यस मेलाबाट नेपालका आकर्षक पर्यटकीय गन्तव्यबारे बुझ्न तथा नयाँ सूचना प्राप्त गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले जिम्मेवारी सम्हालेसँगै डब्लुटिएम, आइटीबीलगायत महत्वपूर्ण पर्यटन मेलामा बोर्डको सहभागिता सुनिश्चित गर्न पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही प्रतिबद्धतानुसार अन्तर्राष्ट्रिय बजारीकरण नेपालको पर्यटन प्रवर्द्धनका लागि डब्लूटिएममा सहभागिता जनाउने निर्णय भएको जोशीले बताउनुभयो । “बोर्डले डब्लूटिएममा सहभागिता जनाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि ढोका खुलेको छ । अन्तर्राष्ट्रिय मेला, सेल्स मिसनलगायत अन्तर्राष्ट्रिय फोरममा बोर्डको प्रभावकारी उपस्थिति रहन्छ”, कार्यकारी प्रमुख जोशीले भन्नुभयो ।

अघिल्ला दुई वर्ष बोर्डले डब्लुटिएम, आइटिबीजस्ता अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन सकेको थिएन । नेपालको पर्यटन प्रवर्द्धनका निम्ति बोर्ड स्थापनाभएदेखि निरन्तर रूपमा अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुँदै आएको छ । हरेक वर्ष नोभेम्बर (कात्तिक) मा आयोजना हुने यो मेलालाई विश्वको दोस्रो ठूलो पर्यटन मेला मानिन्छ । यस्तै प्रत्येक वर्ष मार्च (फागुन)मा जर्मनीको बर्लिनमा आयोजना हुने ‘इन्टरनेश्नल ट्राभल टुरिजम बर्लिन आइटिबी’ मेलालाई विश्वकै पहिलो पर्यटन मेला मानिन्छ ।

बोर्डले आइतबार सूचना प्रकाशित गरी इच्छुक कम्पनीलाई डब्लुटीएममा सहभागिताका लागि अनुरोध गरेको छ । कम्तीमा ३० कम्पनीलाई त्यहाँ सहभागी गराइने बोर्डको योजना छ ।

नेपालले विगत ४० वर्षदेखि डब्लुटिएममा सहभागिता जनाउँदै आएको छ । पच्चिस वर्षअघि बोर्ड स्थापना भएकामा त्यसअघि पर्यटन विभागमार्फत नेपालले यस्ता मेलामा सहभागिता जनाउने गरेको थियो । मेलाबाट व्यावसायिक सम्भावनाका नयाँ आयामबारे सम्पर्क विस्तार गर्ने अवसर मिल्ने दाबी गरिएको छ ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ मा बोर्डको प्रमुख काममा अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उल्लेख छ । “अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई एक आकर्षक पर्यटनस्थलका रूपमा स्थापित गरी पर्यटन व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड स्थापना गरिएको हो”, ऐनमा भनिएको छ ।

सार्वजनिक निजी साझेदारी मोडलमा स्थापित बोर्डको करिब रु दुई अर्ब वार्षिक बजेटमध्ये झण्डै ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारीकरणमा खर्चनुपर्ने हुन्छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम तथा मेला महोत्सवमा नेपालले भाग लिएन । बोर्डको विदेशमा कार्यक्रम सञ्चालन तथा खरिदसम्बन्धी कार्यविधि २०७८ पारित नहुँदा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउन नसकिएको बोर्डले जनाएको थियो । डब्लुटिएममा नेपालको पहिचान र पर्यटन प्रवर्द्धनका लागि विभिन्न सामग्रीको स्टल राखिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया