संविधान दिवसका अवसरमा सरसफाइ

  भदौ ३१, २०८१

गण्डकी, ३१ भदौ : संविधान दिवसको अवसरमा आज पोखराको फेवातालमा सरसफाइ गरिएको छ ।

कास्कीस्थित जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, नागरिक समाज, पोखरा महानगरपालिकाको संयुक्त संयोजनमा पोखराको फिर्के खोला मिसिएको फेवाताल किनारा एवं ड्यामसाइड क्षेत्रमा सरसफाइ गरिएको हो ।

सरसफाइमा सबै सुरक्षा निकाय, नगर प्रहरी, सरकारी कर्मचारी र नागरिक समाजको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवसका अवसरमा प्रदेशस्तरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुुभयो । फेवाताल यहाँको मुख्य सम्पदा भएको बताउँदै उहाँले फेवातालले छिट्टै आफ्नो आकार पाउने विश्वास व्यक्त गर्नुुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संविधान दिवसका अवसरमा फेवातालको सरसफाइ आयोजना गरिएको बताउँदै यसको संरक्षण सबैको दायित्व भएको बताउनुुभयो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रका तर्फबाट हरेक महिनाको एक दिन पोखराका सम्पदास्थल सरसफाइ गरिएको बताउँदै संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम फेवातालमा केन्द्रित गरिएको जानकारी दिनुुभयो । 

नागरिक समाज कास्कीका संयोजक रामबहादुर पौडेलले पोखराको गौरव फेवातालको संरक्षणका लागि राज्यको ध्यान पुग्नु जरुरी भएको बताउनुुभयो । फिर्के खोलाबाट फेवातालमा फोहर नआउने गरी व्यवस्थापन गर्नुु जरुरी रहेको उहाँको भनाइ छ । संविधान दिवस असोज ३ गते मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया