कोशी प्रदेशसभाको आजको बैठकमा २ वटा विषयगत समितिको प्रतिवेदन प्रस्तुत

  भदौ २६, २०८१

विराटनगर, २६ भदौः कोशी प्रदेशसभाको आजको बैठकमा दुईवटा विषयगत समितिको प्रतिवेदन प्रस्तुत भएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १४३ बमोजिम सार्वजनिक लेखा समितिको ज्येष्ठ सदस्य एवं समितिका सभापति किशोरचन्द्र दुलाल र सामाजिक विकास समितिका ज्येष्ठ सदस्य एवं समितिका सभापति गयानन्द मण्डलले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका तर्फबाट तिलचन पाठकले विशेष समयमा पूर्वमुख्यमन्त्री केदार कार्कीले हिजोदेखि सुरु गर्नुभएको अनशनले प्रदेशसभालाई गम्भीर बनाएको बताउनुभएको छ ।

अनशनले संविधानको मूल्य र मान्यतालाई धज्जी उडाएको प्रसङ्ग उल्लेख गर्दै सांसद पाठकले भन्नुभयो, “पूर्वमुख्यमन्त्री कार्कीले जुन माग राखी अनशन बस्नुभएको छ, ती माग आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमा परेको रातो किताबबाट प्रस्ट हुन्छ ।”

दश वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न सरकारले बजेटको व्यवस्थापन गरेको, स्वास्थ्य महिला स्वयंसेविकाको सम्मान र स्वाभिमानलाई उच्च पार्न बजेट विनियोजन गरेको छ भन्दै उहाँले झुटा कुरालाई बोकेर अनशनमा बस्नु जनता र संसद्लाई गुमराहमा पार्न खोज्नु हो भन्नुभयो ।

सांसद पाठकले यसअघि सरकार अल्पमतमा पर्दा राजीनामा नदिने र विश्वासको मत पनि नलिने पूर्वमुख्यमन्त्री कार्कीको मूल्याङ्कन आमजनताले गरेको उल्लेख गर्दै मुख्यमन्त्री हुँदै गर्दा उहाँले नै ल्याउनुभएको वार्षिक बजेटमा धेरै योजना कटौती भएको र संसद् एवं जनताको भावना विपरीत काम गरेको जगजाहेर छ भन्नुभयो ।

उहाँले मुख्यमन्त्रीजस्तो गरिमामय ओहोदामा रहिसकेको माननीय कार्कीले पदीय जिम्मेवारी र प्रतिष्ठाको ख्याल नगरी अराजक हरकत प्रदर्शन गरेको भनी खेद व्यक्त गर्नुभयो ।

शून्य समय

कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सजना दर्जी, खगेनसिं हाङ्गाम, गीतादेवी रेग्मी, मीना श्रेष्ठ, रामदेव यादव, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, नारायणबहादुर मगर र निर्मला लिम्बूले मुलुकको आर्थिक, राजनीतिक, सामजिकलगायत समसामयिक विषयमा बोल्नुभएको थियो ।

सभामा सभामुख अम्बरबहादुर विष्टले विषयगत समितिमा सदस्य समावेश तथा हेरफेरसम्बन्धी नामावली प्रस्तुत गर्नुभएको थियो भने विषयगत समितिको सभापतिको निर्वाचन यही भदौ २८ गते हुने जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक असोज २ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया